काठमाडौँ : अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्गहरूमा पहिरो खसेर आवागमन पूर्णरूपमा ठप्प भएको छ।
नेपाल प्रहरीले सोमबार बिहान ६ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमतीलगायतका प्रदेशका मुख्य सडकखण्डहरू बन्द रहेको जनाएको हो।
कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला, मकालु गाउँपालिका–३ एकुवा, र मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ बिचको भागमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै ओखलढुङ्गाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा सिद्धिचरण लोकमार्ग बन्द भएको प्रहरी विवरणमा उल्लेख छ।
धनकुटाको पाख्रीबास, दिकुरे, साँगुरीगढीस्थित चनौटे र ससिमसुवा क्षेत्रमा समेत मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग अवरुद्ध छन्। सलाम नगरपालिकामा मेची राजमार्ग पनि पूर्ण रूपमा ठप्प रहेको प्रहरीको जानकारीमा उल्लेख गरिएको छ।
त्यस्तै, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खसेर सडक आवागमन अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, मकवानपुरको भिमफेदी र बकैया क्षेत्रका सडक पनि बन्द भएका छन्।
दक्षिणकाली–काठमाडौँ खण्ड इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा रोकिएको छ भने सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा अवरुद्ध मदन भण्डारी राजमार्ग आंशिक रूपमा मात्र सञ्चालनमा आएको छ। तर, सोही जिल्लाको फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बिपी राजमार्ग अझै पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया