इलाममा भीषण पहिरो : एकै परिवारका पाँचसहित एक दर्जन बढी बेपत्ता,देउमाइको पुल बगायो

आइतबार, १९ असोज २०८२

इलाम : अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् ।

राति निरन्तर वर्षासँगै माथिबाट आएको भीषण पहिरोले उनीहरूको घर नै पुर्दा सम्पर्कविहीन बनेका हुन् ।

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् । स्थानीयका अनुसार ती दुवै जना घरभित्रै भएको समयमा पहिरो बगाएर लैजाँदा खोजी कार्य भइरहेको छ ।

यस्तै, देउमाई नगरपालिका–५ धुसेनीका पाँच जना पहिरोमा परेर ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ ।

उद्धारका लागि स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र सुरक्षा निकायका टोली परिचालित भए पनि लगातारको वर्षाले खोजीमा कठिनाइ भइरहेको छ ।

अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा इलाम–भद्रपुर र इलाम–फिदिम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक अवरुद्धसँगै इलामका पहाडी बस्तीहरू सम्पर्कविहीन बनेका छन् । 

अविरल वर्षाका कारण इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका बिचमा पर्ने देउमाई खोलाको पुल आज राति आएको बाढीले बगाएको छ । आसपासमा रहेका केही घरहरू समेत बाढीले बगाएको स्थानीय सुरेन्द्र लिम्बुले जानकारी दिए ।

स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिने तयारी अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार