काठमाडौं : देशभर हाल मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक अवस्थित भएकाले अधिकांश स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। कोशी प्रदेशमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।
देशका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन विभागले सर्वसाधारण र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया