पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बलेरो दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका सबै १२ जनाको पहिचान खुलेको छ ।
शनिवार दिउँसो मिक्वाखोला गाउँपालिका–४, साँवाबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बलेरो सवारी करिब ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको र ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतकमा ताप्लेजुङको मेरिङदेन–५ की २८ वर्षीया मनीषा कार्की, मेरिङदेन–४ की २१ वर्षीया गीता हाङगाम, मेरिङदेन–२ का ३३ वर्षीय विनोद लुङवा, सिदिङवा–१ की २९ वर्षीया युना तामाङ, मेरिङदेन–५ का २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू रहेका छन् ।
घाइते हुनेमा ताप्लेजुङ मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला–४ की २५ वर्षीया मनु साँवा लिम्बू, कालिखोलाका ७ वर्षीय सन्तोष लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ, मेरिङदेन–५ का २५ वर्षीय विमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनीहरू मध्ये अधिकांशको टाउको, ढाड र हातखुट्टामा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए ।
प्रतिक्रिया