महोत्तरी । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरुको माग छ ।
महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रूपैयाँ यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले मङ्गलबार गौशाला-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे ।उखुखेती किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासङ्घ र उखु उत्पादक कृषक सङ्घका पदाधिकारीका साथ आन्दोलनमा छन् ।
उखु उत्पादक कृषक महासङ्घका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् । माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने सङ्घले जनाएको छ ।
महोत्तरीमा गत आव २०८१/८२ को यामको उखुबाट किसानले २१ करोड ७२ लाख ९१ हजार रूपैयाँ रकम पाउनुपर्ने छ । महोत्तरीमा आव २०८१/८२ मा अनुदान पाउनुपर्ने किसानको सङ्ख्या १४ हजार ५३३ छ । यसपालि यो सङ्ख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष कुशवाहाको भनाइ छ ।
आव २०८०/८१ मा भने जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापतको जम्मा २० करोड ३३ लाख रूपैयाँ पाएका थिए ।
प्रतिक्रिया