वासिङ्टन डीसी । अमेरिकी अर्बपति एलन मस्क र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमा तिक्तता आउन थालेको बेला एउटा चकित पार्ने खुलासा भएको छ । वाशिंगटन पोस्टका अनुसार, मस्कको कम्पनी स्टारलिंकले ह्वाइट हाउसको छतमा अनुमति बिना नै आफ्नो वाइफाइ जडान गरेको थियो ।
फेब्रुअरीमा भएको यो घटनामा स्टारलिंकका कर्मचारीहरू पूर्वसूचना वा सुरक्षा अनुमति बिना नै ह्वाइट हाउसको आइसेनहावर कार्यकारी कार्यालय भवनको छतमा चढेका थिए। त्यसपछि ह्वाइट हाउस परिसरभित्र ‘Starlink Guest’ नामको खुला वाइफाइ नेटवर्क देखा परेको थियो, जसमा पासवर्ड मात्र मागिन्थ्यो तर कुनै प्रयोगकर्ता नाम वा सुरक्षा प्रमाणीकरण थिएन।
यो कार्यले सुरक्षा निकायहरूमा गम्भीर चिन्ता जन्माएको छ। रिपोर्टअनुसार, ह्वाइट हाउस संचार टोलीले पहिले नै स्टारलिंकलाई सम्भावित सुरक्षा जोखिमका रूपमा चेतावनी दिइसकेको थियो, तर ट्रम्प प्रशासनले त्यसलाई बेवास्ता गर्दै स्टारलिंकलाई सरकारी ठेक्का दिइरह्यो।
हाल मस्क र ट्रम्पबीचको सम्बन्ध चिसिएको छ, र यो घटनाले भविष्यमा स्टारलिंकका सरकारी सम्झौताहरूमा असर पार्नसक्ने संकेत देखिएको छ।
अझै पनि ह्वाइट हाउसमा स्टारलिंकको नेटवर्क देखिइरहनु सुरक्षा जोखिम अझै बाँकी रहेको प्रमाण हो।
विश्लेषकहरूका अनुसार, यो मामिला केवल प्राविधिक गल्ती नभई, राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती हो।
प्रतिक्रिया