विराटनगर । सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सम्पन्न गरिएको छ। स्थानीय युवामा नैतिक चेतना विकास गर्नु र मधेसी समुदायको सशक्तिकरणलाई प्रवर्द्धन गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले जनाएका छन्।
कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी सहभागी थिए। सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल र कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण सत्र सञ्चालन गरेका थिए।
कार्यक्रममा विद्यार्थी र युवाहरुलाई नेतृत्व विकास, नैतिक मूल्य, आत्मनिर्भरता र सामाजिक जिम्मेवारीका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो। अध्यक्ष अन्सारीले यस्ता कार्यक्रमले युवाको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। साथै उनले आगामी वर्षको बजेटमा नैतिक शिक्षा र सीप विकासमूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
सहभागीहरूले बेरोजगार युवा, महिला र कमजोर वर्गलाई लक्षित गरी आयोजना गरिएको यो प्रयास सराहनीय रहेको धारणा राखे। लामो समयदेखि समुदायमा क्रियाशील आयोजक संस्थाले यस्तो अर्थपूर्ण कार्यक्रम सञ्चालन गर्न पाएकोमा गौरव व्यक्त गरेको छ।
कार्यक्रमले स्थानीय तहमा नैतिक शिक्षा प्रवर्द्धन, युवामा नेतृत्व विकास र सामाजिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया