कोष खड्का(भारद्धाज) व्यस्त रेडियोकर्मी होइनन् तर जादुमयी प्रस्तुतिले चर्चित बनेका व्यस्त उद्घोषक हुन् । अब उनी उद्घोषक मात्र होइन प्रेरणादायी अर्थात् मोटिभेशनल स्पिकरका रूपमा दरिँदै गएका छन् । नेपालका व्यस्त उद्घोषकहरूमध्ये उनको नाम शीर्ष स्थानमा आउँछ । धार्मिक एवम् आध्यात्मिक कार्यक्रमबाट लोकप्रिय बनेका उनी साङ्गीतिक कन्र्सटहरुमा पनि उत्तिकै छाइरहेका छन् । शब्द वाणी र बुलन्द आवाजले हरेक व्यक्तिलाई प्रभावित बनाइरहेका उनले नेपाल न्यूज बैङ्कसँग आफ्नो अनुभव सुनाएका छन् ।
उद्घोषण यात्रा
सुरुमा रेडियो कस्तो होला, के होला भन्ने लाग्थ्यो । बोल्ने मान्छे रेडियो भित्रै छन् कि भन्ने लाग्थ्यो । तर जब आफू रेडियोमा बोल्न थालियो त्यसपछि धेरै कुरा जान्ने मौका मिल्यो । रेडियोमा बोल्दा धेरै चिठीपत्रहरु आउँथे, फोनहरू आउँथे । तर हिजोआज फोन र चिठी कम भएको छ र हात हातमा मोबाइलमा रेडियोहरू सुन्नेहरूको सङ्ख्या बढेको छ । वास्तवमा मेरो यात्रा रेडियो कार्यक्रम सञ्चालकबाट भएको हो । रेडियोकै कारण आज हजारौँ मानिसहरूका अगाडि उभिएर बोल्न सक्ने भएको छु । मेरो सबैभन्दा ठुलो पाठशाला रेडियो नै हो ।
मेरो हिजोआजको दैनिकी भनेको पूर्णकालिन उद्घोषण नै हो । तर रेडियोको युग सकिएको भनेर जसले भनिरहेका छन् त्यो गलत हो । रेडियोको चाम अझैपनि छ । अहिलेपनि अनलाइनका माध्यमबाट रेडियो गुञ्जायमान हुने गर्छ । रेडियो सुन्न कम भएता पनि त्यसको प्रभाव भने अझै छ । र रेडियो सुन्नेहरूको सङ्ख्या उत्तिकै छ ।
हुन त हिजोआज उद्घोषण कला सिकाउने सेन्टरहरू स्थापित छैनन् । उद्घोषण सिकेर मात्रै हुँदैन । आफूमै क्षमता चाहिन्छ । यसमा सबैभन्दा ठुलो कुरा भनेको धैर्यता हो । जीवनमा सफलता प्राप्त गर्नु छ भने धैर्यता राख्ने क्षमता आफूमा हुनुपर्छ । धैर्यताका साथ जसले कर्तव्य निर्वाह गर्छ त्यो सफल हुन्छ । आज पनि गुणात्मक हिसाबले उदघोषकहरुको सङ्ख्या बढेको छ, सङ्ख्यात्मक हिसाबले छैन ।
यसर्थ उद्घोषकको महत्त्व र आवश्यकता कमी होइन अझै बढेर गएको महसुस भएको छ । हिजो बोल्नेलाई सामान्य हो भन्ने चलन थियो, बोल्नेलाई पनि पैसा दिनुपर्छ र भन्ने थियो । तर अहिले आज प्रोफेसनल उद्घोषक चाहिन्छ है भनेर खोजी हुने गरेको छ । कुनै कार्यक्रममा एउटा उद्घोषकले जुन तरिकाले कार्यक्रम चलाउँछ त्यो सामान्य व्यक्तिले सक्दैन । व्यावसायिक व्यक्ति नै चाहिन्छ । ज्ञानले भरिपूर्ण हुनुपर्छ भन्ने पनि छ । सोही अनुसार माग पनि हुने रहेछ ।
अध्ययनमा विविधता र प्रेरणा
एक सफल उद्घोषक वा पब्लिक स्पिकर बन्न विविध क्षेत्रको अध्ययन जरुरी पर्छ । जसले अध्ययन, अनुसन्धान अन्वेषण गर्छ वा जसले जे कुराको खोज गर्छ उसमा सोही कुराको निखरता हुँदै जाने हो । ज्ञानहरू वृद्धि हुँदै जाने हो । धनले बदलिएको मानिसभन्दा ज्ञानले बदलिएको मानिस धेरै बुद्धिमान हुन्छ । हामी ज्ञानले बदलिनुपर्छ र ज्ञान हासिल गर्न अध्ययन गर्नुपर्छ । अध्ययनले हामीमा निखरता ल्याउँछ र त्यसलाई प्रस्तुत गर्ने शैली अपनाउन सकियो भने सफल पनि भइन्छ ।
वास्तवमा प्रस्तुतीकरणले मान्छेलाई लट्ठ्याउने हो । मान्छेको हृदयमा बस्ने हो । उद्घोषकको लागि प्रस्तुतीकरण एकदमै जरुरी हुन्छ । मेरो सन्दर्भमा कुरा गर्ने हो भने म अध्ययन गर्छु, आफूभन्दा अग्रजहरूले बोलेको सुन्छु र उहाँहरूको नोभेलहरु पढ्छु । त्यसलाई आफ्नो शैलीमा ढाल्ने प्रयास गर्छु । जसको आफ्नोपन हुँदैन त्यसको प्रगति हुन सक्दैन । मानिसको जीवन छोटो छ तर ज्ञान अनन्त छ । छोटो जीवनमा ज्ञान अनन्त प्रदान गरेर आफूलाई श्रेष्ठ बनाउनुपर्छ । त्यही कर्ममा म अघि बढ्छु र आफ्नो शैलीमा ढालेर प्रस्तुत वा वाणीहरू प्रस्तुत गर्दा सबैले मन पराइ दिनुभएको छ ।
हुन त मेरो जीवनमा सबैभन्दा ठुलो प्रेरणा भनेको रेडियो नै हो । रेडियो सुन्दा चर्चित व्यक्तिहरूको कुराहरू सुन्थेँ । आफू पनि सोही अनुसार बोल्न पाए पनि हुन्थ्यो भन्ने एउटा कल्पना थियो । त्यसपछि ०६८ सालमा रेडियोमा बोल्न सिकें । त्यसपछि एउटा रेकर्डिङ कार्यक्रम चलाए । म पहिलो पटक अन एयर हुँदा पुस महिना थियो ।
रेडियोमा लाइभ प्रोग्राम चलाउन गएको थिएँ । त्यसबेला स्टेसन म्यानेजर मेरो छेउमै आएर बस्नु भएको थियो । मलाई के बोल्ने थाहा थिएन । तर जे बोलेको रहेछु राम्रै बोलेको रहेछु । तर म पुसको महिनामा पसिनाले भिजेर निथ्रुक्कै भएको थिए । पुसको महिनामा पनि मलाई पसिना आउने बनाएछ । त्यहाँबाट मेरो संघंर्षको यात्रा सुरु भएको थियो ।
एक दशक रेडियो कार्यक्रम सञ्चालन गरेँ । भनिन्छ नि जीवनमा सधैँ विकल्प राख्नपर्छ । त्यसपछि मेरो बाटो मोडियो । सिन्धुलीको कमलामाई नगरपालिका सिन्धुलीमाडीमा पहिलो धार्मिक कार्यक्रम चलाए । सोही बेला धार्मिक स्टेज चढेँ । त्यसपछि निरन्तरता दिँदै गए र राम्रो हुँदै गयो । लगाव बढ्यो । भाषा शुद्ध भयो । शब्द चयनमा ध्यान दिनथालें । शब्दसँग खेल्न मन पर्न थाल्यो ।
आफूसँग भएको क्षमता आफैँले पहिचान गर्नुपर्ने रहेछ । संसारमा कसैले पनि तपाई भित्र यो क्षमता छ भनेर भनिदिंदैन् । क्षमता स्वयमले पहिचान गर्ने हो । मैँले पनि आफूभित्र यो क्षमता छ भनेर पहिचान गरेँ । त्यो महसुस गरेँ । अनि महोत्सवको स्टेज चढ्नुपर्छ भन्ने लाग्यो । सांस्कृतिक कार्यक्रमहरूको स्टेजमा ०७५ बाट चढ्न थालेँ । प्रस्तुति राम्रो हुँदै गयो ।
मलाई दर्शकले नपराई दिनुभयो । त्यसपछि म स्टेज यात्रामा निस्किए । धेरै ठाउँबाट बोलाउन थाल्नुभयो । अहिलेसम्म नेपालका ७३ वटा जिल्लाहरूमा पुगिसकेको छु । कयौँ स्थानहरूमा माया–प्रेम पाएको छु । हरेक बर्ष १५ वटा जति महोत्सव गर्ने गरेको छु भने १० देखि २० ओटासम्म धार्मिक स्टेजहरूमा उद्घोषण गर्ने गरेको छु ।
ट्रनिङ पोइन्ट
केही समय अघि सम्पन्न पोखरा कोटिहोममा एकजना सहयोगी साथीले एउटा चिठी ल्याएर दिनुभयो । त्यसमा लेखिएको थियो ,‘आदरणीय उद्घोषकज्यू राधे राधे । हजुरलाई धेरै हेरिरहेको र हजुरको बोलिबाट प्रभावित भइरहेको छु । म एक पटक हजुरलाई भेट्न चाहन्छु ।’ पत्रमा यही उल्लेख थियो ।
त्यसपछि मन्चंदेखि बाहिर ओर्लिए र उहाँलाई भेटे । उहाँले मलाई देख्ने बित्तिकै आँखाबाट आँसु बगाउनुभयो । किन रुनुभयो भनेर प्रश्न गर्दा उहाँको उत्तर थियो–‘हजुरको बोली र वाणी सुनेर जीवन जिउने एउटा उत्प्रेरणा जागेको छ । सही ढङ्गबाट जीवन जिउन थालेको छु । वास्तवमै हजुर जीवन जिउने उत्प्रेरणा भएको छ । हजुरलाई देख्ने भगवानसँग प्रार्थना थियो, आज पूरा भयो उहाँले भन्नुभयो ।
अनि मलाई लाग्यो कमाएको भनेको यही रहेछ । मैले कमाएको भक्तहरूको प्रेम हो । दर्शकको माया हो । जहाँ म जान्छु उहाँहरू मलाई हुट्ङ्गि गर्नुहुन्छ । जहाँ म जान्छु त्यहाँ आँखाभरि आँसु झारेर बाबा–आमाहरू आफ्ना विगतका कुरा भुल्दै नयाँ जीवनको आनन्दको अद्भुत गर्नुहुन्छ । सबैले मन पराइदिनुभएको छ ।
०७२ बाट मैले धार्मिक यात्रा सुरु गरेँ । सुरु गर्दै जाँदा सञ्जालहरूमा धेरै माया गर्नेहरू पाइरहेको छु । कोरोनाको बेलामा दीप टेलिभिजनलाई मैँले सम्झनपर्छ । त्यो टेलिभिजनबाट एकदमै धेरै माया पाएँ । झापामा एकजना आमाबाबा हुनुहुन्छ । उहाँहरू मलाई आफ्नो कान्छो छोराको रूपमा मान्नुहुन्छ । मेरा कैयाँ आमा–बाबाहरू हुनुहुन्छ । पछिल्लो समय पशुपति कोटिहोममा आए । काठमाडौँ केन्द्रित भएर कर्म गर्न पाए । कोटिहोमले अझै धेरै स्थापित गर्यो । यसको श्रेय बालयोगेश्वर विजय श्रीकृष्णमूर्तिजी महाराजलाई जान्छ । त्यसपछि पोखरामा गरेँ । त्यसले मलाई अझै धेरै व्यापकता बनायो । व्यापकताका बिचमा नै मैले धेरै प्रेम पाएको छु ।
सबैको साझा बन्नुपर्छ
उद्घोषकले कहिले पनि आफ्नो कुरा बोल्ने होइन अरूको मनको भावना बुझेर बोल्न पर्नेहुन्छ । किनकि उद्घोषकले सबैको साझा हो । बोल्दै गर्दा सिलसिलायुक्त कलात्मक शैलीमा सबैको हृदयमा विराजमान हुनेगरि वाणी प्रस्तुत गर्न सक्ने गरी उद्घोषकसँग कला हुनुपर्छ । त्यसरी कर्म गर्दा सबैको प्रिय भइन्छ । त्यो कला मसँग छ जस्तो लाग्छ । एउटा भनाई छ ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ त्यसैले यो समय भनेको शब्द–वाणी छरेर सबैको मनमा बस्ने समय हो । बोल्ने कुराले समाजलाई मोटिभेसन गर्न सक्छ र समाजलाई सही रूपान्तरण गर्दछ ।
बोल्ने कलाले समाजलाई सही सन्देश दिन सकोस् भन्ने हो । मैँले जुन हौसला र माया पाएको छु त्यो सब मेरो भक्तजनबाट पाएको छु । वास्तवमा भन्ने हो भने उद्घोषकले गाउँ, समाज, राष्ट्रदेखि हरेकलाई परिवर्तन गर्न सक्छ । किनकि उनीहरूमा त्यो सामर्थ्य हुन्छ ।
जिब्रो बिग्रिए, बोली बिग्रिन्छ
हामी महसुस गर्न सक्छाँै, कसैलाई हेरेर कसैको भावना महसुस गर्न सक्छौँ । उनीहरू हेरिरहेको हुन्छन् हामी बोल्दा । कुन तरिकाले बोलिरहेका हुन्छौं दर्शकदिर्घाले नियालिरहनुभएको हुन्छ । वृद्धदेखि बाल बच्चा, युवायुवती सम्मको मनोभावना बुझेर बोल्न सक्नुपर्छ । हाँसेर जीवन जिउनका लागि के चाहिएको छ भन्ने कुरा उहाँहरूको अनुहार पढियो भने पनि थाहा हुन्छ । मनको कला बुझ्ने क्षमता उद्घोषक भित्र हुन्छ र हुनुपर्छ । त्यसैले धेरै कुरा ख्याल गर्नुपर्छ ।
सोच बिग्रिए जिब्रो बिग्रिन्छ, जिब्रो बिग्रिए बोली बिग्रिन्छ । अनि बोली बिग्रिए मन बिग्रिन्छ ,मन बिग्रिए सम्बन्ध बिग्रिन्छ । सम्बन्ध बिग्रियो भने घर बिग्रिन्छ र घर बिग्रिए जीवन नै बिग्रन्छ । त्यसैले जिब्रो सुध्रियो भने सबै थोक सुध्रिन्छ । प्रमुख कुरा जिब्रो शुद्ध हुनुपर्यो । जीवनका लागि उपयोगी वाणी प्रस्तुत हुनुपर्यो । त्यसैले झर्किएर बोलाउने शब्द र मायाले बोलाउने शब्द एकै भए पनि बोलाउने तरिका फरक भयो भने प्रिय बन्न सकिन्छ । भगवान श्रीकृष्णले भन्नुहुन्छ–यो संसारमा सबैको प्रिय हुनु छ भने विनम्र पूर्वक बोल्नुपर्छ ।’ जुन व्यक्तिसँग विनम्रता र मधुरता हुन्छ त्यो व्यक्ति सबैको प्रिय हुन्छ । त्यसैले विनम्र र मधुरता हुन आवश्यक छ ।
उद्घोषक कुनै पनि समारोहको मेरुदण्ड हो । मेरुदण्ड बलियो भयो भने हरेक कुरा बलियो हुन्छ । उद्घोषक समारोहलाई अगाडि बढाउन सक्ने एउटा मेरुदण्ड हो । किनकि कार्यक्रम कुन शैलीमा लैजाने भन्ने कुरा उद्घोषकको हातमा हुन्छ । बिग्रिहाल्यो भने कसरी सुधार्ने भन्ने कुरा उसको हातमा हुन्छ । सुधार्दा पनि कुन तरिकाले सुधार्ने भन्ने उसको हातमा हुन्छ । त्यसैले उद्घोषकलाई सर्वव्यापी मानिन्छ ।
अब भगवानकै भरोसा
यति धेरै माया र स्नेह पाइसकेपछि मैँले केही न केही सपना बनाउनुपर्छ । मैँले दुई वटा उद्देश्य बोकेको छु । एउटा आफ्नो नाम चिनाउन सकाँै र अर्को एउटा ठाउँलाई चिनाउन सकौँ । त्यही सोचका साथ कर्म गरिरहेको छु । कर्म गर फलको आस नगर भने जस्तै गरी काम गरिरहेको छु । सही कर्मको प्रतिफल सही नै आउँछ । सत्य तितो हुन्छ तर कालान्तरमा सत्यकै जित हुन्छ । त्यसैले सही कर्म गर्नपर्छ ।
कुन यात्रामा हिँड्ने भन्ने कुरा हाम्रो हातमा हुँदैन । भगवानले जुन बाटो लानुहुन्छ त्यतै जाने हो । म म्यानेजमेन्ट पढेको मान्छे रेडियोमा बोल्न गएँ । मेरो घरमा कसैले नगरेको काम मैँले गरेँ । रेडियोको यात्रासँगै आज आध्यात्मिक यात्रामा छु । कलाकारिता अर्थात् मोडलिङ पनि गर्छु । भोलिको बाटो भोलि नै थाहा हुन्छ ।
यो सबै सफलता र यात्राको कुरा सबथोक प्रेम हो । प्रेमले आजसम्म यहाँसम्म ल्याइपुराएको छ । भोलिका दिनमा प्रेरणा र अनुयायीहरूबाट साथ पाएको खण्डमा उद्घोषणसँगै कथा बाचकका रूपमा पनि आफूलाई प्रस्तुत गर्न सकिएला कि जस्तो लाग्छ ।
सम्भावना नभएको होइन । त्यो पनि सम्भावना छ । तर चाहेर मात्रै हुँदैन भगवानले पनि चाहनुपर्छ । तर मलाई माया गर्नेहरूले यही मुखाराविन्दबाट कथा वाचन गरेको सुन्न पाए हुन्थ्यो भन्ने इच्छा राख्नु भएको छ । तर त्यसका लागि भगावानले चाहेको हुनुपर्छ । भगवानले नचाहे केही हुँदैन । चाहना हामीले गर्नुपर्यो तर पूरा भगवानले गर्नुहुन्छ ।
भनिन्छ नि, जीवनमा चुनौतीभित्र अवसर देख्ने मान्छे सफल हुन्छ । अवसरभित्र चुनौती देख्ने मान्छे कहिले सफल हुँदैन । मेरो यात्रामा पक्कै पनि सहज थिएन । म कार्यक्रम चलाउन मुगु गएको बेला सक्दिन होला भनेर राति ११ बजे कर्णालीको तीरमा बसेर आँसु बगाएको थिए । त्यसबेला मेरो श्रीमतीले हौसला दिएकी थिइन् । त्यसपछि निरन्तर अघि बढिरहेको छु । (रस्मित गिरी )
प्रतिक्रिया