सुनसरीको दक्षिणी भेगमा अवस्थित हरिनगर गाउँपालिका पछिल्ला वर्षहरूमा तीव्र विकास, सुशासन र सामाजिक रूपान्तरणका कारण चर्चामा आएको छ।
यो गाउँपालिकाको नेतृत्व दुई कार्यकालदेखि गर्दै आएका व्यक्ति हुन् — अध्यक्ष गफार अंसारी, जसले २०७४ सालमा पहिलोपटक निर्वाचित भएर गाउँपालिकाको रूपान्तरण सुरु गरेका थिए र २०७९ सालमा पुनः निर्वाचित भई दोस्रो कार्यकाल सम्हालिरहेका छन्।
अध्यक्ष अंसारीका अनुसार, २०७४ सालअघि हरिनगर आसपासका गाउँ विकास समितिहरूमा एक किलोमिटर पिच सडकसमेत थिएन। तर गाउँपालिका गठन भएपछि पहिलो कार्यकालमै उनले ४० किलोमिटर पिच सडक निर्माण गरी विकासको नयाँ उदाहरण स्थापित गरे।
वसन्तपुर, घुस्की, गौतमपुर, हरिनगर र रामनगर भुटाहा गाभेर बनेको यो गाउँपालिकाले अहिले ७ वडामार्फत स्थानीय विकासका विभिन्न परियोजना अघि बढाइरहेको छ।
अध्यक्ष अंसारी पछिल्लो ‘जेनजी आन्दोलन’ लाई नेताहरूको अराजकता र मनपरीविरुद्धको जनआन्दोलनका रूपमा हेर्छन्।
उनले भने, “जेनजी आन्दोलन कुनै पार्टीको आन्दोलन होइन, यो जनताको चेतना र असन्तुष्टिको परिणाम हो। नेताहरूको मनपरी र सत्ता दुरुपयोगविरुद्ध जनताको प्रतिक्रिया हो यो।” तर आन्दोलनमा बाह्य हस्तक्षेप र आपराधिक गतिविधि मिसिएपछि यसको उद्देश्य केही हदसम्म बिग्रिएको उनको ठम्याइ छ।
“मूल माग सही थियो — जनप्रतिनिधित्वमा सुधार चाहिएको थियो, तर केहीले त्यसलाई व्यक्तिगत स्वार्थ र अवसर खोज्ने माध्यम बनाए,” उनले भने।
अंसारी भन्छन्, जनप्रतिनिधि जनमुखी नभएपछि जनताको विश्वास घट्दै गएको छ। “जनता अब प्रश्न गर्न जान्दछन्। जनताको चेतना बढेको छ, तर नेताहरू अझै पनि पुरानै अभ्यासमा छन्। त्यसैले प्रणाली र सोच दुबैमा सुधार आवश्यक छ,” उनले जोड दिए।
अंसारीले पहिलो कार्यकालमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिए। सडक,पुल, सिँचाइ र भवन निर्माणमा हरिनगरले छोटो समयमा उल्लेखनीय फड्को मारेको उनले बताए। दोस्रो कार्यकालमा भने उनले “सेवाको गुणस्तर र मानव विकास”मा ध्यान केन्द्रित गरिरहेका छन्।
“पहिलो कार्यकालमा हामीले सडक बनायौँ, अब स्वास्थ्य, शिक्षा र नागरिक सेवामा गुणस्तर ल्याउने हाम्रो लक्ष्य छ,” अंसारी भन्छन्।
गाउँपालिकाले हालसम्म १५ शय्याको अस्पताल, २ वटा बर्थिङ सेन्टर र ७ वटै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ। स्वास्थ्य सेवा गाउँ–गाउँमा पुग्दा जनताले तत्काल उपचार पाउने सुविधा पाएका छन्।
शिक्षाको क्षेत्रमा पनि गाउँपालिकाले नयाँ युग सुरु गरेको छ। “पहिलोपटक हरिनगरमै बहुमुखी क्याम्पस स्थापना गरिएको छ,” अंसारी बताउँछन्।
“यहाँका विद्यार्थीलाई उच्च शिक्षा पढ्न इटहरी, इनरुवा वा विराटनगर धाउनुपर्ने बाध्यता हटेको छ। साथै, निःशुल्क शिक्षाको व्यवस्थाले सबै वर्गका विद्यार्थीलाई समान पहुँच दिलाएको छ।”
अत्यन्त विपन्न वर्गका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ। ३० घरपरिवारका लागि ६० प्रतिशत लगानीमा आवास निर्माण गरिएको अंसारी बताउँछन्।
सडक र यातायातको सहज पहुँचका लागि गाउँपालिकाले ९ वटा साना र ठूला पुल निर्माण गरिसकेको छ। “गाउँ–गाउँमा हिँड्नका लागि अब पैदल मात्र होइन, सवारीसाधन पनि सजिलै पुग्छ। यसले ग्रामीण अर्थतन्त्रलाई जोड दिएको छ,” उनले भने।
अध्यक्ष अंसारीका अनुसार, गाउँपालिकाको वार्षिक बजेट करिब ५१ करोड रुपैयाँ भए पनि आन्तरिक आम्दानी करिब ८० लाख रुपैयाँ मात्र रहेको छ। “हामीसँग उद्योग छैनन्, व्यापारिक क्रियाकलाप सीमित छन्। जनजीवन कृषि आधारित भएकाले आम्दानी कमजोर छ,” उनले भने।
यसका कारण गाउँपालिकाले सङ्घ र प्रदेश सरकारको बजेटमा निर्भर रहनु परेको छ। “प्रदेश सरकारले २५ प्रतिशत बजेट कटौती गरेपछि केही योजना रोकिएका छन्। सङ्घीय संयन्त्रबाट ढिलाइ हुने भएकाले पनि कार्यान्वयनमा समस्या हुन्छ,” उनले गुनासो गरे।
स्थानीय तहमा दक्ष जनशक्ति नहुँदा सेवा वितरणमा पनि चुनौती रहेको अंसारीको भनाइ छ। “अधिकांश कर्मचारी करारमा छन्, उनीहरू स्थायी रूपमा कार्यस्थलमा बस्दैनन्। यसको असर जनसेवामा पर्छ,” उनले स्पष्ट पारे।
भ्रष्टाचारका आरोपबारे प्रश्न गर्दा अन्सारी भन्छन् — “पालिकामा सबै भ्रष्ट्राचारी छैनन्। जनप्रतिनिधिको हातमा न त चेक काट्ने अधिकार छ, न त प्रशासनिक निर्णय गर्ने। त्यसैले भ्रष्ट्राचारको हल्ला प्रायः भ्रम हो।”
उनले जनताको चाहना र राज्यको क्षमताबिचको अन्तरलाई असन्तुष्टिको मूल कारण मानेका छन्। “जनता तुरुन्तै परिणाम चाहन्छन्, तर प्रणालीगत ढिलाइ र स्रोतको सीमितताले त्यो सम्भव हुँदैन। त्यसैले ‘पैसा खान खोजियो’ भन्ने गलत बुझाइ फैलिन्छ,” अंसारीले स्पष्ट पारे।
जेनजी आन्दोलनबारे थप धारणा राख्दै अंसारीले भने, “आन्दोलनको माग सही हो, प्रतिनिधित्वमा सुधार गर्नुपर्छ। तर आन्दोलनले सडक होइन, संसद्मार्फत समाधान खोज्नुपर्छ।”
उनका अनुसार, संविधान संशोधनको बाटो अपनाए जनताका माग सम्बोधन गर्न सकिन्छ। “संसद् खोलियो भने संविधान संशोधन गर्न सकिन्छ। सडकमा तोडफोड र हिंसा समाधान होइन,” उनले भने।
५४ हजार जनसङ्ख्या र करिब २५ हजार मतदाता रहेको हरिनगर गाउँपालिकामा अंसारीका अनुसार विकासको सबैभन्दा ठूलो चुनौती वैदेशिक रोजगार हो। “यहाँका युवाहरू विदेश जान बाध्य छन्। यदि गाउँमै अवसर सिर्जना गर्न सकियो भने विकासको गति दोब्बर हुनेछ,” उनले जोड दिए।
अध्यक्ष अंसारीका नजरमा, जेनजी आन्दोलनले नेताहरूलाई जनताको आक्रोश बुझ्न सिकाएको छ। “अब नेताहरूले सुधार गर्नैपर्छ, जनताको धैर्य समाप्त भएको छ,” उनले भने।
हरिनगर गाउँपालिका अहिले भौतिक मात्र होइन, मानसिक र सामाजिक रूपान्तरणको यात्रामा छ। भौतिक विकासको जगमा अंसारी अब शिक्षा, स्वास्थ्य र सुशासनलाई बलियो बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने योजनामा छन्।
प्रतिक्रिया