प्रमीला कार्की
काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सबैभन्दा ठुलो र महत्त्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने दाबी गरेको छ ।
नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले आयोजनाको म्याद २०२६ अक्टोबर २ सम्म रहेको भन्दै तोकिएको समयमा नै काम सम्पन्न गर्ने दाबी गरेका हुन् । आयोजना करिब १५ अर्बको लागतमा सुरु भएको हो । लागत थप नगरी यसै लगानीभित्र काम सम्पन्न गर्ने पनि उनको दाबी छ ।
उनले भने,‘यो कामको म्याद २०२६ अक्टोबर २ सम्म हो । अहिलेसम्मको कामको तीव्रता हेर्दा जुन म्याद छ त्यो बेलासम्म सबै काम सकिन्छ । तीन वटा नै ठेक्का सहित १५ अर्बको लगानी छ । लागतमा पहिला जे योजना छ, त्यसभित्रै सकिन्छ । लागत खासै थप्न नपर्ला । गुणस्तर र समयको हिसाबले सुरुमा तोकिएको मितिमा सक्नेछौँ ।
केही समय अगाडि सम्म विमानस्थलमा क्षमता अभिवृद्धिको काम तीव्र रूपमा भइरहेको थियो । तर मनसुन सुरु भएसँगै काम बन्द गरिएको छ । मनसुन सुरु हुँदा काम नै रोक्नुपर्ने अवस्था किन आउँछ भन्ने नेपाल न्यूज बैङ्कको प्रश्नमा उनले भने,‘मनसुनले काममा अवरोध गर्छ । माटो फिलिङ गर्ने कामहरू गर्न मिल्दैन । दीर्घकालीन योजना भएकाले मनसुनको बेला काम गर्दा गुणस्तर कायम गर्न सकिँदैन । त्यो कारणले काम गर्न नसकेको हो ।’ उनका अनुसार मनसुन सक्केपछि फेरि निर्माण कार्यलाई तीव्रता दिइने छ ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा गरिने निर्माणका कामहरू एकदमै चुनौतीपूर्ण रहेको उनी बताउँछन् । जहाजको अपरेसन र सेफ्टीलगायत सबै कुरामा समस्या नआउने गरी काम गर्नुपर्ने हुनाले चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
उनले भने,‘विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा काम गर्नु आफैँमा चुनौतीपूर्ण छ । जहाजको अपरेसन र सेफ्टी सबै कुरामा कुनै समस्या नआउने गरी काम गर्नुपर्छ । खतराहरू पत्ता लगाउने र त्यसलाई घटाएर कुनै खतरा उत्पन्न नहुने गरी काम गर्नुपर्ने हुन्छ । त्यो हामीले गरिरहेका छौँ ।’
निर्देशक श्रेष्ठका अनुसार प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन वटा ठेक्कामा विस्तारको काम गरिरहेको हो ।
तीनवटै आयोजना सम्पन्न भएपछि रनवेको,क्षमता बढ्नुका साथै पार्किङको अभावले हवाईहरू आकाशमा होल्ड गर्नुपर्ने समस्या समाधान हुने उनी बताउँछन् । श्रेष्ठका अनुसार यी तीनै वटा काम रनवेबाट ७५ मिटर दूरी र अपरेशनल क्षेत्रसँग जोडिएको छ ।
प्रोजेक्ट ‘इन्टरनेशनल एप्रोन’
हाल विमानस्थलको उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ प्रोजेक्टको काम भइरहेको छ । २०२० बाट यो प्रोजेक्ट सुरु भएको आयोजनाका इन्जिनियर निर्मल पौडेलले जानकारी दिए । उनका अनुसार यसको मुख्य काम भनेको पार्किङ स्थल थप्ने हो । जमिनको सतहदेखि ३० मिटरसम्म माथि उठाएर पार्किङ स्थल थप्ने काम गरिएको हो ।
यही प्रोजेक्ट अन्तर्गत आयल निगम उत्तरतर्फ सार्ने तयारी भइरहेको छ । त्यसको लागि जग्गा उपलब्ध गराएर चार किल्लाहरू पनि निर्धारण गरिएको छ ।
उनले भने,‘२०२० बाट प्रोजेक्ट सुरु भएको हो । यसको मुख्य काम भनेको पार्किङ स्थल थप्ने हो । जमिनको सतहदेखि ३० मिटरसम्म इम्याक्मेन्ट फिलिङ गरेर २० लाख घन मिटर जति इम्याक्मेन्ट फिल गरेर त्यसमा तहगत रूपमा दिनरात तीन सिफ्ट नै काम गरेर हालको चरणसम्म आइपुगेका छौ । ट्याक्सी कनेक्सनका कामहरू सकिसकेका छन् । मास्टर प्लानसँगको कामहरूमा आयल निगमको फिलफार्म पनि रिलोकेट गर्ने चरणमा छौ ।
आयल निगमको लागि जग्गा उपलब्ध गराएर चार किल्लाहरू पनि निर्धारण गरिसकेका छौ । आयल निगमले यही आर्थिक वर्षबाट आफ्नो टेन्डर प्रक्रियाबाट फिल फार्मका कामहरू अघि बढाउँदै छ ।’
इन्जिनियर पौडेलले यस प्रोजेक्टको ८० प्रतिशत काम सम्पन्न गरेको जनकारी दिए । यो प्रोजेक्ट सम्पन्न भएपछि अहिले ट्राफिक जामले गर्दा जहाजहरू होल्डमा हुने समस्या कम हुने, भिडभाड न्यून हुने र सुरक्षित पनि हुने उनले जानकारी दिए ।
उनले भने,‘समग्र आयोजना अन्तर्गतको यो प्रोजेक्टको ८० प्रतिशत काम सकिएको छ । डिसेम्बर २०२५ मा काम सक्ने मिति छ । यो प्रोजेक्ट सम्पन्न भएपछि एयरपोर्टको सेवा सुविधा बढाउँछ । अहिले ट्राफिक जामले गर्दा जहाजहरू होल्डमा हुने समस्या थियो पार्किङ एप्रोन भएपछि त्यसले भिडभाड कम हुने गर्छ । सुरक्षा पनि बढाउँछ,’उनले भने ।
उनले माटोको गुणस्तर परीक्षण गरेर मात्र ल्याउनुपर्ने भएकाले सबैभन्दा जटिल काम माटोको भएको बताए । माटोको लागि ३३÷३४ वटा साइडहरू अनुगमन गरेर साँगा र टिकाथलीलगायतका ठाउँहरूबाट ल्याइएको उनले बताए ।
‘ट्याक्सी वे’ प्रोजेक्ट
विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’ अर्को महत्त्वपूर्ण प्रोजेक्ट हो । जसले हवाईको रनवेको २० देखि २५ प्रतिशतसम्म क्षमता वृद्धि हुन्छ । पहिला एक सय १० मिटरको अन्तर्राष्ट्रिय मापदण्ड विपरीत ट्याक्सीवे रहेको बताउँदै पौडेलले अहिले एक सय ७२ मिटर पुर्याएर ‘ट्याक्सी वे’को विस्तार भइरहेको जानकारी दिए ।
उनले भने,‘यो पोजेक्टको लक्ष्य भनेको अहिले भइरहेको रनवेको क्षमता वृद्धि गर्नु हो । अहिले भइरहेको रनवे र ट्याक्सीवे अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थिएन । पहिला एक सय १० मिटर थियो भने अहिले एक सय ७२ पुर्याएर ‘ट्याक्सी वे’को विस्तारको काम भइरहेको छ ।’
उनका अनुसार ‘ट्याक्सी वे’ विस्तारमा ११ सय मिटर आरीवाल निर्माणसँगै ६० प्रतिशत काम सम्पन्न भएको छ । यो प्रोजेक्ट सम्पन्नसँगै हवाई टेकअफको लागि लाइनमा बस्नुपर्ने समस्या समाधान हुनेछ । ट्याक्सी वे र धावनमार्गमा अहिले ठुला जहाज एकै पटक ओहोरदोहोर गराउन सकिँदैन । तर यसको विस्तारसँगै अब ट्याक्सी वे र धावनमार्गमा अहिले ठुला जहाज एकै पटक ओहोरदोहोर गराउन सकिने छ ।
‘ह्याङ्गर एप्रोन’ प्रोजेक्ट
विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ प्रोजेक्ट अन्तर्गतमा विस्तारको काम भइरहेको छ ।
ह्याङ्गर एप्रोन १ र २ गरी दुई वटा काम त्यहाँ भइरहेको छ । ह्याङ्गर एप्रोन १ को उद्देश्य मेन्टिनेन्स एप्रोन हो । यहाँ जहाजहरूको मर्मतका लागि पार्किङ स्थल बन्दैछ । जहाँ ४० प्रतिशत काम सम्पन्न भएको छ ।
इन्जिनियर उमेश श्रेष्ठका अनुसार ट्याक्सीवे क्यू रन वेको सेन्टरबाट करिब ७५ मिटरको दुरीमा रनवे अपरेसनमा नै हुँदा खेरी निर्माण कार्य सम्भव हुँदैन । निर्माणका कामको लागि गत नोभेम्बरदेखि मार्च ३१ सम्म रन वे नै १० घण्टाको लागि बन्द गरेर रातमा काम गरिएको थियो. ।
उनले भने,‘यो एडिभीको लोनबाट चलिरहेको दुई वटा प्रोजेक्टमध्ये ओसीभी–२ भन्ने कनट्र्याक्ट हो । जसमा दुई वटा ह्याङ्गर एप्रोनको निर्माण हुँदैछ । ह्याङ्गर एप्रोन १ को उद्देश्य भनेको मेन्टिनेन्स एप्रोन हो । यहाँ जहाजहरूको मर्मतको लागि पार्किङ गरेर मर्मत गर्न सकिने स्थल बन्दैछ । त्यसको निर्माणले ट्याक्सी वे क्यू रन वेको सेन्टरबाट करिब ७५ मिटरको दुरीमा रनवे अपरेसनमा नै हुँदा खेरी निर्माण सम्भव हुँदैन । सम्भव नहुने भएकाले गत नोभेम्बरदेखि मार्चको ३१ सम्म रनवे नै १० घण्टाको लागि राति बन्द गरेर काम गरेका थियौ ।’
गत मङ्सिर १७ गते रातिदेखि विमानस्थल बन्द गरेर काम सुरु गरिएको थियो । तर करिब १० फिट हाइटसम्म एकैरातमा खनेर नसकिने भएपछि त्यसलाई विभाजन गरेर भोलिपल्ट फेरि रनवे दिनेगरी रातमा काम सुरु गरेको श्रेष्ठले बताए ।
जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अनुगमन समेत गरेका थिए । हवाई उड्डयन क्षेत्रलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न योजना अघि सारेका मन्त्री पाण्डेले काठमाडौँसँगै पोखरा, भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि कार्य योजना बनिसकेको जानकारी दिए । जसका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको, विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्य योजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि बताए ।
पाण्डेले काठमाडौँको निर्माण कार्य तीव्र गतिमा भइरहेको र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर गुणस्तरीय रूपमा काम भइरहेको उनको भनाइ छ ।
आर्थिक बर्ष २०८२÷८३ को बजेटमा पनि मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएकोमध्ये, आन्तरिक विमानस्थलको वैकल्पिक परियोजना बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरी वुटिक विमानस्थलमा विकास गरिने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा सहजीकरण गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने
नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिनेलगायतका महत्त्वपूर्ण योजनाहरू अघि सारिएको छ ।
प्रतिक्रिया