काठमाडौँ : नेकपा एमालेले पार्टीको विधान संशोधन गर्दै ७० वर्षे उमेर हद तथा दुई कार्यकालको सिमाना हटाउने तयारी गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल हुँदा उक्त व्यवस्थाहरू हटाउनेबारे सहमति बनेको हो ।
उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको संशोधन प्रस्तावमा केन्द्रीय पदाधिकारी सङ्ख्या ११ जनामा सीमित गर्ने प्रस्ताव भए पनि छलफलका क्रममा पदाधिकारी सङ्ख्या १५ पुर्याउने सहमति जुटेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा सबै सदस्यले धारणा राखेपछि अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो राय प्रस्तुत गरेका थिए । बैठक करिब १० घण्टा लामो भएको थियो । अब यो प्रस्ताव पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफलपछि भदौमा बस्ने विधान महाधिवेशनबाट पारित गरिनेछ । त्यसपछि ११ औँ महाधिवेशनबाट कार्यान्वयनमा ल्याइनेछ ।
बैठकमा यसअघि कायम वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावमा पनि सहमति बनेको छ । साथै, पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी भूमिकामा कसरी समेट्ने भन्नेबारे शीर्ष तहमा छलफल गरेर निर्णय लिने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
यसैबिच शुक्रवार बिहान ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।
प्रतिक्रिया