मुस्ताङ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियान अन्तर्गत आज म्याग्दीको बेनी हुँदै मुस्ताङ पुगेका छन्। महासचिव देव गुरुङसहित अन्य नेतासँगै सडकमार्ग हुँदै मुस्ताङ पुगेका अध्यक्ष दाहालको स्वागत घाँसामा गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला इञ्चार्ज धीरेन्द्र विक, सुरक्षानिकाय प्रमुख र स्थानीय जनप्रतिनिधिले उहाँहरूको स्वागत गरेका थिए।
अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजनामा समावेश बेनी–जोमसोम सडकको स्थलगत निरीक्षण गरेका छन्। त्यस्तै, लामो समयदेखि निर्माण अलपत्र परेको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको अवलोकनसमेत गरेका छन्। पुल निर्माण नहुँदा भोग्नुपरेको समस्याबारे स्थानीयको गुनासो सुन्दै अध्यक्ष दाहालले उक्त पुल निर्माणलाई आफ्नो र पार्टीको प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको पनि निरीक्षण गरेका छन्। शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाका अनुसार अध्यक्ष दाहाल हिमश्रृंखला अवलोकन गर्दै शिक्षालयको विस्तार र प्राविधिक शिक्षाको सुदृढीकरणमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए।
अध्यक्ष दाहालले शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको बागवानी फार्मको भ्रमण गर्दै बागवानी विकासमा सम्भावना रहेको बताए। मुस्ताङको विभिन्न गाउँ— कोवाङ, टुकुचे, मार्फा, स्याङ—मा उनले स्थानीयसँग संवाद र भेटघाट गरेका छन्।
बिहीबार अध्यक्ष दाहालले माओवादी केन्द्र मुस्ताङको पार्टी कार्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ। त्यसअघि आजै उनले जिल्ला समन्वय समिति र पालिका समन्वय समितिका पदाधिकारीलाई शपथग्रहण गराउँदै पार्टी प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज कपिल लामाले जानकारी दिए।
प्रतिक्रिया