काठमाडौंः राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको बागमती प्रदेशले उपाधि जितेको छ । बागमतीले ३६ स्वर्ण, सात रजत र ११ कास्य पदकसहित १५औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डको उपाधि जितेको हो । सात प्रदेश सहभागी प्रतियोगितामा बागमती टिम च्याम्पियन बनेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणमा च्याम्पियन बनेको सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो ।
सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कास्य हात पारेको छ । एघार, १२ र १३औँ संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेस्रो स्थान हात परेको हो । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कास्य जित्यो ।
गण्डकी चार स्वर्ण, ११ रजत र १७ कास्यका साथ चौथो, कर्णाली चार स्वर्ण, छ रजत र १९ कास्यका साथ पाँचौँ र मधेस प्रदेश तीन स्वर्ण, दुई रजत र १० कास्यका साथ छैटौँ स्थानमा रहेका छन् । सातौँ स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले सात रजत र आठ कास्य जित्यो ।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङ, कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी छ खेलमा प्रतिस्पर्धा भएको थियो । तीनदिने प्रतियोगितामा छ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा कुल नौ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । समावेश छ वटै खेलको हरेक पदकका लागि कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया