काठमाडौँ : हाल देशको पश्चिमी तथा मध्य भू(भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहँदा कोशी प्रदेशमा भने मनसुनजन्य वायुको व्यापक प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती लगायतका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदलीको अवस्था छ।
कोशी, मधेश र बाग्मती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको अवस्था
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना समेत रहेको छ।
अन्य प्रदेशका थोरै स्थानहरूमा पनि बदलीसहित हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
रातको अवस्था
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
विशेष सतर्कता
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रका स्थानहरूमा हल्का वर्षा र हिमपात समेत हुनसक्ने भएकाले महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षासँगै सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी र सावधानी अपनाउन नागरिकहरूलाई महाशाखाले विशेष अनुरोध गरेको छ।
प्रतिक्रिया