भैँसीले बाली खाएको विवादले वृद्धको ज्यान गयो

शनिबार, ३१ जेठ २०८२

बर्दिया : बर्दियामा भैँसीले बाली खाएको विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा एक वृद्धको ज्यान गएको छ।

मधुवन नगरपालिका–१ निवासी ५५ वर्षीय ढुक्कुर राउतको कुटपिटबाट गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको हो। घटना गत आइतबारको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–७ का ३५ वर्षीय कृष्णरामजी यादवले आफ्ना भैँसी राउतको खेतमा पसेर अन्नबाली खाएको विषयमा विवाद हुँदा राउतमाथि लट्टी प्रहार गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेका राउतलाई नेपालगन्जस्थित नर्सिङ होममा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

प्रहरीले घटनामा संलग्न कृष्णरामजी यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। सामान्य विवादबाट सुरु भएको घटनाले ज्यान जानु दुःखद भएको भन्दै प्रहरीले स्थानीयलाई संयमित रहन आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार