काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर विभिन्न स्थानमा चट्याङ लागेर १८ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङले जनधनमा क्षति पु¥याएको हो ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार रोल्पामा मात्रै आठ जना घाइते भएका छन् । त्यसमध्ये छ जना बालबालिका बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा घाइते भएका हुन् भने दुई जना त्रिवेणी गाउँपालिका–६, डाफ्लास्थित एक घरमा चट्याङ पर्दा घाइते भएका हुन् ।
मकवानपुरको राक्सिराङमा दुई, प्युठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरमा दुई जना घाइते भएका छन् । यस्तै,सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा एक/एक जना घाइते भएका छन् ।
त्यस्तै, लेक लागेर रसुवामा एकजना घाइते भएका छन् भने रुपन्देहीमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३० वटा विपद्का घटना भएको छ । प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जानकारी सङ्कलन कार्य जारी राखिएको जनाएको छ ।
प्रतिक्रिया