अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या,अर्का सांसद घाइते

शनिबार, ३१ जेठ २०८२

वासिङ्टन : अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा डेमोक्र्याटिक पार्टीका एक जना सांसदको ज्यान गएको छ भने अर्का सांसदसहित एक व्यक्ति घाइते भएका छन्।

बन्दुकधारी अझै फरार रहेको र सुरक्षा अधिकारीहरू उसको व्यापक खोजीमा जुटेका छन्।

गभर्नर टिम वाल्जका अनुसार पूर्वसभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कमाथि मिनियापोलिस नजिकैको आफ्नै निवासमा लक्षित आक्रमण भएको हो।

गभर्नर वाल्जले यस घटनालाई ‘राजनीतिक हिसाबकिताब मिलाउने हिंसात्मक हमला’ भन्दै गम्भीर टिप्पणी गरेका छन्। उनले भने, “शान्तिपूर्ण बहस लोकतन्त्रको मेरुदण्ड हो, बन्दुकको भरमा मतभेद समाधान हुँदैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले पनि घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गरिने बताएका छन्।

घटनाको छानबिनमा संलग्न मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रै इभान्सका अनुसार, होर्टम्यान र उनका श्रीमानलाई ९० मिनेटको अन्तरालमा आ–आफ्नो घरमा गोली प्रहार गरिएको हो।

गोलीकाण्डपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको र स्थानीय टिभी स्टेसन केएसटीपीका अनुसार प्रहरीले निलो सर्ट,निलो पाइन्ट र कालो बडी आर्मर लगाएका गोरा पुरुषको खोजी गरिरहेको छ। एबीसी न्युजले स्रोतलाई उद्धृत गर्दै भन्यो, “सन्दिग्धले सम्भवतः कानुन कार्यान्वयन अधिकारीको भेष अपनाएका थिए।”

अहिले मिनेसोटा राज्यमा व्यापक सुरक्षा सतर्कता बढाइएको छ र सङ्घीय अनुसन्धान निकायहरू समेत संलग्न भइसकेका छन्।

राजनीतिक विभाजनको गहिरो चपेटामा अमेरिका

यसबीच,पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौँ नागरिक सडकमा उत्रन तयारी गरिरहेका छन्।

ट्रम्पको प्रशासनले लिएको कठोर आप्रवासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण, तथा कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटहरूले आलोचना गर्दै आएका छन्।

ट्रम्पको पुनः सत्तारोहणपछि अमेरिकी समाज थप ध्रुवीकृत बन्दै गएको छ।

गभर्नर वाल्जले भने,“मिनेसोटामा भएको यो दुःखद आक्रमणले हामी सबैलाई चेत दिलाउनु पर्छ। लोकतन्त्रको रक्षाका लागि मतभेदहरूलाई हिंसा होइन, संवादमार्फत समाधान गर्नुपर्छ।”

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार