धरानमा बोले उपेन्द्र यादव : "पहिचानबिना समावेशी लोकतन्त्र सम्भव छैन"

आइतबार, ०१ असार २०८२

धरान : जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा राष्ट्र निर्माण जातीय नश्लवादको आधारमा भएको आरोप लगाउँदै पहिचानमा आधारित संघीयता कार्यान्वयन नगरी समावेशी लोकतन्त्र सम्भव नहुने दाबी गरेका छन्।

धरानमा आज सम्पन्न जसपा लिम्बुवान राष्ट्रिय समिति एकताको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै यादवले गोरखाली एकीकरणको प्रक्रियाले बहुसांस्कृतिक, भाषिक र पहिचानमा आधारित समाजलाई विस्थापित गर्दै खस आर्य वर्चस्वलाई संस्थागत गरेको बताए। “आज पनि सरकार र प्रशासन उही मानसिकतामा चलिरहेको छ,” उनले भने।

उनले नेपालमा १२५ भन्दा बढी भाषा बोलिए पनि सरकारी कामकाज, शिक्षा प्रणाली र न्याय क्षेत्रमा खस भाषाको मात्र प्रयोग भइरहेकाले सीमान्तकृत समुदायहरू पछि परेको बताए। “प्रशासन र न्यायपालिकामा एउटै समुदायको हालीमुहाली छ, यस्तो व्यवस्थाले विभेदलाई मलजल गर्छ,” उनले स्पष्ट पारे।

यादवले पहिचान, अधिकार र समानुपातिक सहभागिताको माग पूरा नभएसम्म उत्पीडित, आदिवासी र सीमान्तकृत समुदायको आन्दोलन रोकिने अवस्था नरहेको बताए।

“कुमारजी (कुमार लिङदेन) र मबीच अनुहार मात्र फरक छ, एजेन्डा उस्तै छन्,” भन्दै उनले मधेस र लिम्बूवानबीच सहकार्यको संकेतसमेत गरे।

हालैको मुक्लुलुङ घटनामा मधेसको खबरदारीले सरकार पछि हटेको उल्लेख गर्दै उनले लिम्बूवानका मुद्दामा पनि मधेस एक भएर साथ दिने आश्वासन दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार