इलामको पशुपतिनगरबाट भारत लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी बरामद

सोमबार, ०२ असार २०८२

इलाम : नेपाल हुँदै भारततर्फ तस्करी गर्न लागिएको बहुमूल्य चाँदी र सुनजस्तो देखिने पहेँलो धातु सशस्त्र प्रहरीले इलामको पशुपतिनगर चारमाईलबाट बरामद गरेको छ। बरामद गरिएको धातुको अनुमानित मूल्य झन्डै ३२ लाख रुपैयाँभन्दा बढी रहेको छ।

आइतबार राति करिब १२ः३० बजे सूर्योदय नगरपालिका–२ स्थित चारमाईल क्षेत्रमा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले भारतको हिमाचल प्रदेश, कुल्लु परगनु घर भएका २८ वर्षीय अभिनाश बोध र ३५ वर्षीय रवि कुमारको झोलामा शङ्का लागेपछि चेकजाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूका साथबाट १७ हजार ४ सय ग्राम चाँदीसहित अन्य पहेँलो धातुका गरगहना फेला परेको सशस्त्र प्रहरी बल, पशुपतिनगरले जनाएको छ।

बरामद गरिएको धातुको बजार मूल्य करिब ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ बराबर रहेको प्रारम्भिक मूल्याङ्कनमा उल्लेख गरिएको छ। तस्करी प्रयोजनका लागि लैजाँदै गरिएको उक्त चाँदी र पहेँलो धातु पशुपतिनगरस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

साथै पक्राउ परेका दुवै भारतीय नागरिकलाई पनि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीका अनुसार भारत सीमावर्ती क्षेत्रमा तस्करी रोकथामका लागि निगरानी थप कडा पारिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार