रविन्द्र मिश्रले भने,'नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’

मंगलबार, ०३ असार २०८२

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् । 

मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छुटे पश्चात उनले धरौटीमा छोड्ने अदालतको फैसलाले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताए । 

उनले भने, ‘अदालतले न्याय दिएकोमा राज्यले अन्याय गर्दा पनि अहिलेको अवस्थामा अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाँउमा विवेक प्रयोग गर्ने रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास यसले जगाइ दिएको छ ।’

यस्तै, उनले राज्यले जसरी आरोप लगाएको थियो त्यो दुखद भएपनि अदालतले न्याय दिएकोमा खुसि रहेको बताए । 

उनले भने, ‘राज्यले जुन किसिमको आरोप हामी माथि लगायो र हामीलाई दोषि करार गर्नको लागि जसरी राज्य पक्षबाट विभिन्न किसिमका आरोप लगाइयो त्यो दुखद थियो तर अदालतले न्याय दिएकोमा म खुसि छु ।’

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो ।

मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार