उदयपुरमा प्रेम प्रसंगको भयावह मोड: किशोरीको हत्यापछि युवकले गरे आत्महत्या

बुधबार, ०४ असार २०८२

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार, प्रेम सम्बन्धमा रहेका ती दुई जनाबिचको घटनाले हत्या र आत्महत्याको रूप लिएको हुन सक्ने प्रहरीको आशङ्का छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय करिब १४ वर्षीया मञ्जु राईको शव बुधवार बिहान सडक छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने करिब २८ वर्षीय रवीन्द्र राईको शव त्यही स्थानबाट २ सय मिटर पर रहेको आँपको  रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईले घटनास्थलमा पुगेर दुवै शवको कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टमका लागि तयारी भइरहेको जानकारी दिए। ‘हालसम्म घटना कसरी भयो भन्ने यकिन खुल्न बाँकी छ,’ उनले भने।

मृतक मञ्जुको शरीरमा केही नीलडाम तथा घाटीमा समेत चोट भएका कारण हत्यापश्चात् रवीन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरू दुवै केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका कारण त्यसैमा खटपट भएका कारण घटना भएको हुन सक्ने बताइएको छ । 

मृतक किशोरी मञ्जु सिंहदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् भने रवीन्द्र केही दिनअघि मात्र काठमाडौँबाट गाउँ फर्किएका थिए। उनीहरू एकै गाउँका छिमेकी भएको र विगतदेखि चिनजानमा रहेको प्रारम्भिक बुझाइ छ।

स्थानीयवासीले बिहानै बाटोमा किशोरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्ने क्रममा केही पर रवीन्द्रको शव फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। घटना प्रेम सम्बन्धकै कारण भएको हो वा अन्य कुनै कारण छ भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार