जनकपुर। जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सांसद रामअशिष यादवले जनमत नेतृत्वको सरकारले ल्याएको प्रदेशको बजेटलाई असन्तुलित तथा दिशाहीन बजेटको संज्ञा दिएका छन्।
हालै प्रस्तुत बजेटको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै सांसद यादवले अहिलेको बजेट कुनै गन्तव्यमा पुग्न नसक्ने खालको रहेको धारणा राखेका छन्।
उनले नीति तथा कार्यक्रम र बजेट बक्तव्य दुबैमा थुप्रै भिन्नता रहेको बताए। नीति तथा कार्यक्रममा कृषि तथा शिक्षालाई प्राथमिकता दिइएको भएपनि बजेट बक्तव्यमा भने कृषिलाई सबैभन्दा पछाडि राखिएको उनको आरोप छ।
कृषिमा २ अर्ब ८३ करोड र भौतिक पूर्वाधार विकासमा करिब १६ अर्ब रुपैयाँ तोकिएको छ। यसले नीति तथा कार्यक्रम र बजेट बक्तव्यको तालमेलमा धेरै फरक देखियो र नियत पनि देखियो,’ सांसद यादवले भने।
नारै नाराले भरेको नीति तथा कार्यक्रमलाई अहिलेको बजेट बक्तव्यले पूरा गर्न नसक्ने उनले आरोप लगाएका छन्। अहिलेको प्रदेश सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोजेको सांसद यादवले बताए। उनले कंङक्रिट प्रदेश निर्मार्णतर्फ अहिलेको बजेट केन्द्रित गरिएको उनको आरोप छ।
कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको भए यो बजेट आशावादी हुने उनले बताए। बेटी बचाउ बेटी पढाउ, किशोरी बीमालगायत मधेश गौरवका योजनाहरुलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा सांसद यादवले गुनासो गरे।
त्यस्तै उनले अहिलेको बजेटमा नयाँपन केही पनि नरहेको आरोप लगाएका छन्। साधारण खर्च र वित्तिय व्यवस्थापन खर्च न्यून राखी पुँजीगत खर्चमा वृद्धि गर्नुको साटो यसको ठिक विपरीत गरेर प्रदेश सरकारले आफूलाई पूर्ण रुपमा असफल तुल्याएको उनले भनाई छ। यो बजेटले मधेशको कुनै हालतमा कल्याण नहुनेमा उनी विश्वस्त रहेको सांसद यादवले धारणा राखेका छन्।
प्रतिक्रिया