मकवानपुरमा देवरद्वारा भाउजूको हत्या, प्रहरीमा आफैँ पुगेर आत्मसमर्पण

विहीबार, ०५ असार २०८२

मकवानपुर : मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल बस्तीमा पारिवारिक सम्बन्धले गाँसिएका दुई व्यक्तिबिचको विवादले हिंसात्मक रूप लिँदा एक महिलाको ज्यान गएको छ।

बिहीबार दिउँसो ५५ वर्षीया तुलुमाया गोपालीको आफ्नै देवर ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय पालुङका अनुसार,घटनापछि हत्या आरोपी जीवन गोपाली अपराह्न हतियारसहित आफैँ प्रहरीमा उपस्थित भएका थिए।

उनी अहिले प्रहरी नियन्त्रणमा छन् र घटनाको प्रकृति हेर्दा योजनाबद्ध हत्या हुन सक्ने आशङ्का प्रहरीको प्रारम्भिक बुझाइ छ।

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले घटनालाई अत्यन्तै गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र पारिएको जानकारी दिए।

“विवरण सङ्कलन, साक्षी बयान, घटनास्थलको अनुसन्धान र मृतकको पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया अघि बढाइएको छ,”डीएसपी बस्नेतले भने।

प्रहरीले घटना हुनुअघि दुवै पक्षबिच के कारणले विवाद चर्कियो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ।

पारिवारिक विवाद वा अन्य कारण रहेको भन्ने विषयमा हाल खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धानपछि मात्र वास्तविक तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले घटनाले गाउँमा त्रासको वातावरण बनाएको बताएका छन्। हत्या भएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो भने तुलुमायाको शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार