स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले बिहीबारको खेलमा बदला लिँदै दोस्रो लगातार जित निकाल्यो।
नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो। जितका नायक बने ओपनर कुशल भुर्तेल, जसले ५१ बलमा ६ चौकासहित ६५ रनको उत्कृष्ट इनिङ खेले।
आसिफ शेख ७ र कप्तान रोहित पौडेल ५ सस्तै आउट भए पनि भिम सार्की २७, आरिफ शेखले ३९ रन बनाएर रिटायर्ड हर्ट भए भने दीपेन्द्रसिंह ऐरी १६ रन अविजित र लोकेश बम १२ रन अविजितले टिमलाई सहज जित दिलाए।
नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। ओपनर माइकल लेभिटले ५३ बलमा ८६ रन बनाएका थिए, जसमा ६ चौका र ५ छक्का समावेश थिए।
तर अन्य ब्याटरहरूको कमजोर प्रदर्शनका कारण नेदरल्यान्ड्सले अपेक्षित ठूलो स्कोर खडा गर्न सकेन।
नेपालका करण केसीले २ विकेट लिए भने ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
प्रतिक्रिया