हनिमुनपछि हत्या : श्रीमानको ज्यान लिएर प्रेमीसँग फरार भएकी पत्नी पक्राउ

शुक्रबार, ०६ असार २०८२

नयाँ दिल्ली : भारतमा पछिल्लो समय प्रेम र विवाहको सम्बन्ध जघन्य अपराधहरू सार्वजनिक भइरहेका छन्। हनिमुनकै क्रममा श्रीमानको हत्या गरेको घटनाले तहल्का मच्चाइरहेका बेला फेरि त्यस्तै अर्को घटना उत्तराखण्ड राज्यमा सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको बिजनौर जिल्लास्थित नजिबाबाद–बुआखल राष्ट्रिय राजमार्ग नजिकै अमसौद गाउँमा एक पुरुषको शव फेला परेको घटनामा प्रहरीले चकित पार्ने तथ्य बाहिर ल्याएको छ। घटनाको अनुसन्धान क्रममा मृतककी पत्नी र उनको प्रेमीले मिलेर हत्या गरेको खुलेको छ।

गत जुन ५ तारिख, अमसौद गाउँभन्दा एक किलोमिटरअगाडि मोडमा पर्ने खोह नदी छेउको झाडीमा गन्हाएको अवस्थामा एक शव फेला परेको थियो। प्रहरीले शवको पहिचान ५६ वर्षीय रवीन्द्रको रूपमा गरेको थियो, जो नयाँ दिल्लीको वसन्त कुञ्ज दक्षिणस्थित राजोकरी निवासी थिए।

घटनापछि रवीन्द्रका भाइ राजेश कुमारले उनका दोस्रो पत्नी रीना सिन्धुमाथि हत्या गरेको आशङ्का गर्दै प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

घटनास्थल नजिकको सिसिटिभी फुटेजमा रातिको समयमा एक सेतो एसयूभी ५०० कार देखिएको थियो। त्यसपछि घटनास्थलबाट फरेन्सिक टोलीले पनि महत्त्वपूर्ण प्रमाण सङ्कलन गर्‍यो। यी सबै प्रमाणहरूका आधारमा प्रहरीले मृतककी पत्नी रीना सिन्धु र उनको प्रेमी पारितोष कुमारलाई नागिनाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार रीना सिन्धु मुरादाबादको रामगंगा बिहारस्थित घरमा फिजियोथेरापी सेन्टर सञ्चालन गर्छिन्। त्यही क्लिनिकमा उपचारको सिलसिलामा आएका पारितोषसँग उनको प्रेम सम्बन्ध गाँसिएको थियो। अन्ततः दुवैले श्रीमानको अस्तित्व नै समाप्त पार्ने योजना बनाएका थिए।

प्रहरीले दुबैलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ। भारतमा एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका यस्ता घटनाहरूले वैवाहिक सम्बन्ध र सामाजिक मूल्यहरूबारे गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार