देशकै पहिलो ग्वार्को फ्लाईओभर सञ्चालनमा,प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

शुक्रबार, ०६ असार २०८२

काठमाडौँ : ललितपुरको ग्वार्कोमा निर्माण भएको देशकै पहिलो ओभरपास (फ्लाईओभर) शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

प्रमुख भौतिक संरचना निर्माण कार्य पूरा भएसँगै सवारीसाधन सञ्चालनका लागि तयारी अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

शुक्रवार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै गाडीहरू सो मार्ग भएर गुड्न थाल्नेछन्।

ग्वार्को ओभरपास सञ्चालनमा आएपछि कोटेश्वर र सातदोबाटोबीचको चक्रपथ खण्ड तथा मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सहज हुने र ट्राफिक व्यवस्थापन चुस्त हुने अपेक्षा गरिएको छ।

अबदेखि ग्वार्को क्षेत्रमा सवारी साधनले जाममा रोकिनु नपर्ने, अनवरत रूपमा आवागमन गर्न सक्ने अवस्था निर्माण भएको छ।

२०७८ साल फागुन १२ गते राष्ट्रियस्तरको प्रतिस्पर्धामार्फत आशिष–समानान्तर रेलिगेर जेभीले ओभरपास निर्माणको ठेक्का पाएको थियो। ठेक्का सम्झौताअनुसार १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा २०८० फागुन ११ गतेभित्र निर्माण सक्ने योजना भएपनि पटक–पटक म्याद थप गर्दै अन्ततः २०८२ वैशाखसम्म निर्माण सम्पन्न गरिएको हो।

निर्माण अवधिमा विभिन्न प्राविधिक र मौसमी कारणले गर्दा कार्य तालिकामा ढिलाइ भएको थियो। ४० मिटर पुनर्निर्माणको आवश्यकता र वर्षाको असरले एक महिनासम्म निर्माण म्याद थपिनुपरेको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। ढिलाइका कारण ठेकेदार कम्पनीले हर्जनासमेत तिरेको छ।

ओभरपासको लम्बाइ ४५५ मिटर, उचाइ ६ मिटर, र ग्राउन्ड क्लियरेन्स ६ मिटर रहेको छ। दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटर लामो र्‍याम्प बनाइएको छ। लेन सेपरेटर, लाइनिङ र ट्राफिक बत्ती जडान लगायतका सम्पूर्ण कार्य पूरा भइसकेको छ।

हाल राजधानीको करिब १४ लाख सवारी साधनमध्ये ८० प्रतिशत मोटरसाइकल छन्, र ट्राफिक व्यवस्थापन राजधानीको प्रमुख चुनौतीमध्ये एक बनेको छ।

सार्वजनिक सवारी सङ्ख्या कुल सवारीको ४ प्रतिशतभन्दा कम रहेको अवस्थामा यो ओभरपासले निजी सवारीको चाप व्यवस्थापनमा केही राहत दिने विश्वास गरिएको छ। यातायात विज्ञहरूले भने यो समस्या दीर्घकालीन समाधानका लागि सार्वजनिक यातायातको सुधार अपरिहार्य रहेको औँल्याएका छन्।

यसैबिच, काठमाडौँको नागढुंगा–बलम्बु–सिस्नेखोला सुरुङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा निर्माणाधीन फ्लाईओभर पनि अन्तिम चरणमा पुगेको छ। १२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको उक्त फ्लाईओभरको निर्माणले सो क्षेत्रमा हुने ट्राफिक जाम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

राजधानीमा बिस्तार हुँदै गरेका यस्ता पूर्वाधार परियोजनाहरूले यातायात सञ्जाललाई सुदृढ गर्दै सवारी चाप व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सरकारको विश्वास छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार