काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिँदै रौतहटबासीको राजश्व फिर्ता गर्न आग्रह गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले बजेटको असमान वितरणप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री ओली नेतृत्वको सरकारमाथि बेइमानीको आरोप समेत लगाएका हुन् ।
सांसद साहले सरकारले बजेटलाई निजी सम्पत्तिजस्तो व्यवहार गर्दै नेताहरुबीच भागबण्डा गरिएको टिप्पणी गरे । उनले भने, “आज सरकारी बजेट जनताको पसिना हो कि नेताज्यूहरूको पैतृक सम्पत्ति हो भन्ने प्रश्न खडा भएको छ ।” बजेटको वितरण प्रणालीप्रति आक्रोश पोख्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित १ खर्ब ५१ अर्ब रुपैयाँमध्ये धेरैजसो रकम सीमित क्षेत्रमा मात्र परेको दाबी गरे ।
उनले रौतहटजस्ता जिल्ला उपेक्षित बनेको भन्दै प्रधानमन्त्री ओलीसँग आक्रोशित स्वरमा भने, “थोरै पनि लाज लाग्छ प्रधानमन्त्रीलाई भने त्यहाँको जनताको राजश्व फिर्ता गर्नुहोस् । तपाईं त्यहाँका प्रधानमन्त्री होइन, मन्त्री पनि होइन । यदि सबै नेपालीका प्रधानमन्त्री हो भने किन यस्तो बेइमानी गर्नुभयो ?”
सांसद साहले काठमाडौं बाहिरका वृद्धवृद्धा र विद्यार्थीहरुलाई यातायातमा छुट नदिएकोमा पनि आपत्ति जनाए । उनले भने, “के काठमाडौं बाहिरका नागरिक नागरिक होइनन् ? उनीहरूले पनि समान सुविधा पाउनु पर्दैन ?”
यता, सरकारी उद्योग निरन्तर घाटामा चलिरहेका बेला निजी क्षेत्रबाट कर असुल्नु नैतिक अन्याय भएको भन्दै सांसद साहले सरकारको आर्थिक नीतिमाथि समेत प्रश्न उठाए । “तपाईंहरूले खोलेको सरकारी उद्योग घाटामा छ, चलाएको रेल घाटामा छ, उडाएको प्लेन घाटामा छ । यस्तो अवस्थामा निजी उद्योगसँग ट्याक्स लिन मिल्छ ?” उनले भने ।
प्रतिक्रिया