लन्डन : बेलायतको लन्डनस्थित एक अदालतले यौन अपराधका गम्भीर घटनामा संलग्न चिनियाँ नागरिक झेनहाओ झाउलाई न्यूनतम २४ वर्षसहित आजीवन जेल सजाय सुनाएको छ।
३१ वर्षीय झाउले चार वर्षको अवधिमा युके र चीनमा गरी कम्तीमा १० महिलामाथि बलात्कार गरेका थिए। मेट्रोपोलिटन प्रहरीले झाउलाई “एक नरपिचास सरहको यौन सिकारी” भनेको छ, जसको अत्याचार अझै गहिरो अनुसन्धानको चरणमा छ।
पिएचडी अध्ययनका लागि लन्डन आएका झाउ महिलाहरूमाथि यौन आक्रमण गर्ने योजनामा उच्चस्तरको कुटिलता देखाउने गर्थे।
अदालतका अनुसार, उनले महिलाहरूलाई रक्सी र नशालु पदार्थ सेवन गराएर बेहोस बनाई बलात्कार गर्नुका साथै ती घटनाहरूको भिडियोसमेत खिच्थे। प्रहरीले उनका विलासी अपार्टमेन्टबाट सयौँ भिडियो फुटेजहरू बरामद गरेको छ।
न्यायाधीश रोसिना कटेजले फैसला सुनाउँदै भनिन्, “झाउले बलात्कारलाई शृङ्खलाबद्ध ‘अभियान’ बनाएका थिए। उनले महिलाहरूलाई केवल आफूको ‘सेक्स टोय’ जस्तो व्यवहार गरे।”
यो अभियोगअन्तर्गत झाउमाथि ११ बलात्कार, १० अश्लील सामग्री राख्ने, ३ यौन उद्देश्यका लागि औषधि राख्ने, ३ गोप्य निगरानी, १ झुटो बन्दी बनाउने लगायतका मुद्दामा दोषी ठहर गरिएको छ।
एक पीडित महिलाले बयान दिइन्, “उसले मेरो आत्मविश्वास मात्र होइन, मेरो जीवन नै लुट्यो।” अर्की चिनियाँ महिला, जो अहिले चीनमै बस्छिन्, झाउद्वारा लन्डनमा अपार्टमेन्टमा बलात्कार भएको अनुभव सुनाउँछिन्— “उसको अनुहार म कहिल्यै बिर्सन सक्दिन। उसले जुन अमानवीय व्यवहार गर्यो, त्यसको क्षमा छैन।”
झाउ युनिभर्सिटीका सभ्य विद्यार्थीको छविमा आफूलाई ढाक्ने गर्थे। तर, प्रहरीले अनुसन्धान गर्दा उनका फ्ल्याटहरूमा महँगो बेड, छुपाइएका क्यामेरा र नशालु औषधिहरू भेटिएको छ। ४,००० पाउन्ड तिरेर भाडामा लिइएको अपार्टमेन्टमा उनले एक युवतीलाई रातभर थुनेर बलात्कार गरेको पुष्टि भएको छ।
मेट्रोपोलिटन प्रहरीका कमान्डर केभिन सथ्वर्थ भन्छन्, “झाउ कारागारमा छन् भन्ने तथ्यले पीडितलाई केही राहत मिलोस् भन्ने हाम्रो चाहना हो। तर यो अझै समाप्त भएको छैन, हामी थप पीडितको खोजीमा छौँ।”
क्राउन प्रोसिक्यूशन सर्भिसकी सायरा पाइक भन्छिन्, “झाउ एक ‘शृङ्खलाबद्ध बलात्कारी’ हुन्। पीडित महिलाहरूको साहसिकता र बोल्न सक्ने आत्मबलका कारण मात्र हामी उनलाई आजीवन सजाय दिन सफल भयौँ।”
-बीबीसी
प्रतिक्रिया