इटहरीबाट युवा युद्यमीहरु एउटै माग : 'नीति निर्माण तहमा हामीलाई पनि सहभागी गराइयोस्'

मुख्यमन्त्री कार्कीको आरोप : “चुरोट–रक्सीमा कर बढाएर देश बनाउने सपना देखिएको छ”

शनिबार, ०७ असार २०८२

इटहरी : युवालाई केवल रोजगारीको विकल्पमा सीमित नराखी,देशको नीति निर्माण तहसम्म सहभागी गराउनुपर्ने आवाज युवा उद्यमीहरूले तीव्र रूपमा उठाएका छन्।

नेपाल युवा उद्यम मञ्च,सुनसरीको छैटौँ वार्षिक साधारण सभामा बोल्दै सहभागी उद्यमीहरूले राज्यले युवाप्रति दृष्टिकोण परिवर्तन गर्नुपर्ने माग गरेका हुन्। इटहरीस्थित सोल्टी वेस्टेण्ड होटेलमा आयोजित उक्त सभामा उनीहरूले युवाको सृजनशीलता र व्यावसायिक क्षमतालाई राष्ट्रिय नीतिमा स्थान दिनुपर्ने कुरामा जोड दिए।

मञ्चका संस्थापक अध्यक्ष सुदिप घिमिरेले देशमै अवसर सिर्जना गर्न सकिने सम्भावना हुँदाहुँदै पनि रणनीतिक अभावका कारण हजारौँ युवा विदेश पलायन भइरहेको गुनासो गरे।“देशभित्रै सम्भावना छ, तर ठोस पहलको अभाव छ,” उनले भने,“युवालाई राष्ट्र निर्माणको साझेदार बनाउन स्पष्ट र प्रभावकारी नीति आवश्यक छ।”

WhatsApp Image 2025-06-21 at 22.18.21

नेपाल युवा उद्यम मञ्चका केन्द्रीय अध्यक्ष कुशलशुन्दर श्रेष्ठले पनि देशमा व्यवसाय गर्ने वातावरण अझै सहज नभएको उल्लेख गर्दै कर प्रणाली, लगानी सुरक्षाजस्ता विषयमा सुधार आवश्यक रहेको बताए। “दक्ष युवाशक्ति निरन्तर बिदेसिनु नेपालको दीर्घकालीन हानिका रूपमा देखिन थालेको छ,” श्रेष्ठले भने, “अहिलेको ढाँचामा परिवर्तन नगरेसम्म स्वदेशमै रोजगारीको सपना अपुरो नै रहन्छ।”

श्रेष्ठले स्वरोजगार र उद्यमशीलतालाई वैदेशिक रोजगारीको विकल्पका रूपमा अगाडि बढाउन सबै तहका सरकारलाई आह्वान गरे। “युवालाई उद्यममा जोड्ने रणनीति तर्जुमा गर्न प्रदेश, सङ्घ र स्थानीय सरकारबीच समन्वय आवश्यक छ,”उनले स्पष्ट पारे।

युवा उद्यम मञ्च, सुनसरीका नवनिर्वाचित अध्यक्ष राजीव घिमिरेले युवाहरू सङ्गठित भएर अघि बढ्नुपर्ने समय आएको बताए।“युवालाई उद्यमशीलता र नेतृत्वका लागि तयार पार्न नीति निर्माणमा पनि हाम्रो सहभागिता हुनुपर्छ,”उनले भने। आफूले नेतृत्व सम्हालेको कार्यकालमा नवप्रवर्तनशील स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने उनले जनाए।

त्यसै अवसरमा उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष तथा उद्योगपति राजेन्द्र राउतले युवालाई समस्या देखेपछि भाग्ने नभई त्यससँग जुध्ने आत्मबल विकास गर्न आग्रह गरे। “समस्या छन् भन्ने सबैलाई थाहा छ, तर हामीसँग सहकार्य गरेर समाधान खोज्न आउनुहोस्,” उनले भने, “डराएर विदेश जानुभन्दा यहीँ आत्मनिर्भर बन्ने साहस जरुरी छ।”

राउतले देशको आर्थिक मन्दीप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारी नीतिहरू अव्यवहारिक रहेको टिप्पणी गरे।“न सरकारको दीर्घकालीन निर्यात नीति छ, न त पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन। यस्तोमा निजी क्षेत्र कसरी अघि बढोस् ?” भन्दै उनले सरकारको अकर्मण्यतालाई प्रश्न गरे।

मुख्यमन्त्री कार्कीको आरोप : “चुरोट–रक्सीमा कर बढाएर देश बनाउने सपना देखिएको छ”

कार्यक्रममा सहभागी रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले सङ्घीय सरकारमाथि कडा प्रहार गरे। “सङ्घीय सरकारले चुरोट र रक्सीमा कर बढाएर देश बनाउने सपना देखिरहेको छ,” उनले कटाक्ष गरे, “यो सोच देशको आर्थिक रूपान्तरणका लागि भ्रमपूर्ण छ।”

मुख्यमन्त्री कार्कीले अहिलेको आवश्यकता यथार्थपरक नीति र जिम्मेवार कर संरचना रहेको उल्लेख गरे। “अप्ठ्यारो पर्‍यो भने चुसिहालौँ भन्ने प्रवृत्तिले देश बनिँदैन,” उनले भने।

प्रदेश सरकार सञ्चालनमै सङ्घीय नीतिहरू बाधक बनिरहेको उल्लेख गर्दै उनले ती नीतिहरूको पुनरावलोकन र परिमार्जन अपरिहार्य भएको बताए।

WhatsApp Image 2025-06-21 at 22.18.45

त्यसै अवसरमा उनले युवाहरूलाई कोशी प्रदेशमै सम्भावनाहरू पहिचान गरी उद्योग–व्यवसाय सुरु गर्न आह्वान गरे। “कोकाहा खोलाको पानी, कफी खेती, दुग्धजन्य उत्पादनजस्ता क्षेत्रले अब ठुलो सम्भावना बोकेको छ,” उनले भने, “प्रदेश सरकारले लगानी सम्मेलनमार्फत अवसरको ढोका खोलेको छ, त्यसको सदुपयोग गर्नु युवाहरूको जिम्मेवारी हो।”

WhatsApp Image 2025-06-21 at 22.17.43

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार