इटहरी: युवाहरूको सृजनशीलता,उद्यमशीलता र नेतृत्व क्षमतालाई सङ्गठित बनाउने उद्देश्यले स्थापना गरिएको नेपाल युवा उद्यम मञ्च सुनसरीले नयाँ नेतृत्व पाएको छ।
इटहरीस्थित सोल्टी वेस्टेण्डमा सम्पन्न छैटौँ वार्षिकोत्सव कार्यक्रममार्फत राजीव घिमिरे अध्यक्षमा चयन भएका छन्।
घिमिरेको नेतृत्वमा गठन भएको मञ्चको कार्यसमितिमा सिनेट रिजाल प्रथम उपाध्यक्ष र राकेश श्रेष्ठ द्वितीय उपाध्यक्ष चयन भएका छन्।
युवाहरूको प्रतिनिधित्व गर्ने यो साझा संस्थाको समितिमा उत्सव थापा,अबिशेक बस्नेत,निशान खेडिया,आकाश दुलाल, जिशुन चापागाईँ, राहुल भण्डारी र जर्मन पौडेल पनि सदस्यका रूपमा चयन भएका छन्।
“युवालाई बोल्ने मात्रै होइन, बनाउने प्लेटफर्म बनाउँछौँ”
अध्यक्षमा निर्वाचित भएपछि घिमिरेले आफ्नो कार्यकाललाई ‘क्रियाशील,नवीन र समावेशी’ बनाउने प्रतिबद्धता जनाए।“अब समय बोल्न होइन,निर्माण गर्नका लागि हो। हामीले युवालाई नेतृत्व र उद्यमशीलताको यात्रामा अघि बढाउनेछौँ,” उनले उद्घोष गरे।
उनले नीति निर्माण तहमै युवाको पहुँच पुग्नुपर्ने आवश्यकता औँल्याउँदै भने,“युवालाई नेतृत्वका लागि तयार पार्न, केवल तालिमले पुग्दैन, अवसर दिनुपर्छ। त्यसका लागि हामी सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्छौँ।”
घिमिरेले आफ्नो कार्यकालमा नवप्रवर्तनशील स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम अघि ल्याइने बताएका छन्। प्रविधि,वातावरण,कृषि, डिजिटल सेवा जस्ता क्षेत्रमा स्थानीय स्तरमै प्रयोग गर्न सकिने स्टार्टअप आइडियाहरूलाई मञ्चले सघाउने योजना बनाएको छ।
नेपाल युवा उद्यम मञ्चका केन्द्रीय अध्यक्ष कुशलसुन्दर श्रेष्ठ,सुनसरीका संस्थापक अध्यक्ष सुदीप घिमिरे र उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवा उद्यमशीलताको विकासका लागि सरकारी नीति निर्माण तहमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका छन्।
उनीहरूले उद्यमशीलता नेपाली युवाको सम्भावनासँग जोडिएको भन्दै नीति निर्माणमै युवालाई संलग्न गराउन सरकार र सरोकारवालाहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले सम्बोधन गर्दै प्रदेश सरकार समृद्धिको यात्रामा केन्द्रित भएर अगाडि बढिरहेको बताए। उनले उद्यमशीलता, लगानी प्रवर्द्धन र युवा सशक्तीकरणलाई सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, इटहरीका जीवन पराजुली, इनरुवाका वीरेन्द्र शाह, रामधुनीका नवीन चौधरी, नेपाल जेसिजका पूर्व केन्द्रीय अध्यक्ष महेश पौडेल लगायत प्रदेशका विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतिक्रिया