सर्लाही : नेपाली कांग्रेस, मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाही क्षेत्र नम्बर ४ मा पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधि र अराजकताको विषयमा गम्भीर आपत्ति जनाएका छन्।
उनले केही राजनैतिक संरक्षणमा अराजक तत्त्वहरूले सर्वसाधारण र प्रहरीमाथि साङ्घातिक आक्रमण गर्दै आम जनमानसमा त्रास फैलाएको आरोप लगाएका छन्।
सिंहले सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिहरूको घोर निन्दा गर्दै अपराधलाई संरक्षण गर्ने र उक्साउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन राज्यका सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई यस्ता अराजक व्यक्तिहरूसँग सचेत रहन पनि अनुरोध गरेका छन्।
उनका स्वकीय सचिव निकेश त्रिपाठीले यस्ता घटनाले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै अपराधीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।
त्रिपाठीका अनुसार केही शक्तिशाली व्यक्तिको संरक्षणमा हिंसात्मक गतिविधि बढ्दै जानु सिङ्गो सर्लाही क्षेत्रकै शान्ति र सुरक्षामा खतरा हुनसक्ने सङ्केत हो।
प्रतिक्रिया