भात नपकाएको निहुँमा सुनसरीको बराहक्षेत्रमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सोमबार, ०९ असार २०८२

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित मुसहरी टोलमा एक घरेलु विवादले भयावह रूप लिँदै एक महिलाको ज्यान लिएको छ।

भात नपकाएको भन्दै सुरु भएको भनाभन हिंसामा परिणत हुँदा २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो। श्रीमान् सोनिया मुसहरको कुटपिटले गम्भीर घाइते भएकी ढलिसदाको उपचारको अवसर नपाउँदै मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनिया मुसहरले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए।

अत्यन्तै कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारको सट्टा घरमै राखिएको थियो। आइतबार बिहान गम्भीर घाइते अवस्थामा रहेकी उनको मृत्यु भएको जनाइएको छ ।

प्रहरीले घटनास्थलमा पुगेर अभियुक्त सोनियालाई नियन्त्रणमा लिएको छ भने मृतकको शव कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको जनाएको छ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरीको पत्नीको हत्यामा संलग्न सोनियालाई पक्राउ गरेको छ ।

पत्नीको हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक कुँवर नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार