सुनसरीका दुई उद्योगमा दुर्घटना : दुई कामदार गम्भीर घाइते

सोमबार, ०९ असार २०८२

सुनसरी : जिल्लाको इनरुवा र दुहबीस्थित दुई उद्योगमा आइतबार छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जना कामदार गम्भीर घाइते भएका छन्।

औद्योगिक सुरक्षा उपायप्रति गम्भीर ध्यान नदिँदा यस्ता दुर्घटना बढिरहेका छन् भन्ने तथ्य पछिल्लो घटनाले झनै स्पष्ट पारेको छ।

इनरुवा नगरपालिका–५ स्थित हनुमान काठ मिलमा काम गरिरहेका मोरङको बुढीगंगा गाउँपालिका–१, रजानन्द चोकका ४६ वर्षीय दुर्गा भट्टराई काठको मुढा लडेर घाइते भएका हुन्।

उनी मुढा सञ्चालनको काममा संलग्न रहँदा अचानक ठुलो काठको मुढा उनको शरीरमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घाइते भट्टराईलाई तत्कालै इनरुवास्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। 

त्यसैगरी, दुहबी नगरपालिका–१, परास्टोकीस्थित स्वस्तिक फ्याक्ट्रीमा कार्यरत भारतको बिहार,अररिया जिल्लाका ३० वर्षीय सुरेश पासवान माथिबाट अचानक टिनको पाता खस्दा घाइते भएका छन्।

काम गर्दै गर्दा माथिबाट खसेको पाताले उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

पासवानको प्रारम्भिक उपचार दुहबीस्थित सिटी अस्पतालमा गरिएको भएपनि थप उपचारका लागि उनलाई विराट मेडिकल टिचिङ अस्पताल, विराटनगर रिफर गरिएको हो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार