मोरङ जिल्ला अदालत परिसरबाट दोषी ठहर व्यक्ति फरार

सोमबार, ०९ असार २०८२
File Photo

विराटनगर : मोरङ जिल्ला अदालत परिसरमै दोषी ठहर भइसकेका एक प्रतिवादी फरार भएका छन्। विराटनगर–१३ निवासी ४० वर्षीय विजय शंकर झा सोमबार दिउँसो करिब ३ बजे अदालत परिसरबाट फरार भएका हुन्।

झालाई सुनसरीको दुहबीबाट आइतबार पक्राउ गरेर मोरङ जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो। उनीमाथि चेक अनादरसम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गर्दै ७ लाख ५० हजार रुपैयाँ बिगो र त्यसको ब्याज तिर्नुपर्ने फैसला गरिसकेको थियो।

नागेश्वरप्रसाद साहले झाविरुद्ध दर्ता गराएको मुद्दामा अदालतले २०८० माघ २३ गते रकम असुल गर्न आदेश दिएको थियो। तर, झाले फैसला कार्यान्वयन नगरेपछि साहले कैद सजाय माग गरेका थिए। अदालतले साहको मागअनुसार झालाई २ वर्ष कैद सजाय तोकेको थियो।

सोही आदेश कार्यान्वयनका लागि झालाई कारागार चलान गर्न सोमबार अदालतमा पेस गरिएको थियो। तर, अदालत परिसरमै ‘शौचालय जान्छु’ भन्दै प्रहरीलाई छल्दै झा फरार भएका हुन्। प्रहरीका अनुसार उनलाई प्रहरी हवल्दार विकास सिंह नेतृत्वको टोलीले अदालतमा पेस गर्न लगेको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झाको खोजी तीव्र पारिएको छ।

घटनामा लापरबाही देखिएकाले प्रहरीमाथि छानबिन सुरु गरिएको छ । प्रहरीले निगरानीमा राख्न नसक्दा कारागार चलान गर्नुपर्ने प्रतिवादी अदालत परिसरबाटै फरार भएको पाइयो,’ उनले भनिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार