कलाकार कलकतियाबालीकी श्रीमती अँसा सदा घरमै मृत फेला

मंगलबार, १० असार २०८२

मुकेश कुमार यादव 

सिरहा : मधेसका चर्चित कलाकार अविनाश झा ‘कलकतियाबाली’की श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका–१२ र २० को सिमानामा पर्ने नोचा पोखरी नजिकैको घरमा सोमबार राति उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।

गत माघमा अन्तरजातीय विवाह गरेका अविनाश झा र अँसा सदाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक जीवनप्रति खुसी देखाउँदै आएका थिए।

विवाहपछि गृह प्रवेशका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। तर, पछिल्ला केही दिनयता दम्पतीबिच करिब १०–११ दिनदेखि वैवाहिक सम्बन्धमा तनाव बढेको खुलेको छ।

अँसा सदा सोमबार राति मृत फेला परेको र आत्महत्या भएको आशङ्का गरिएको भए पनि प्रहरीले पोस्टमार्टम बिना कुनै निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ।

माइती पक्ष उपस्थित नभएकाले घटनासम्बन्धी थप प्रक्रिया अघि बढाउन समस्या भएको प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए।

घटनास्थलमा अहिले प्रहरीको टोलीले मुचुल्का उठाउने काम जारी राखेको छ भने अनुसन्धान तीव्र पारिएको छ। अँसा सदा फेला परेको घर चलचित्र सुटिङ स्थानको रूपमा समेत परिचित रहेकोले घटनास्थलमा स्थानीयको भीड लागेको छ।

कलाकार अविनाश झा भने घटनापछि बोल्न सक्ने अवस्थामा नरहेका प्रहरी स्रोतको भनाइ छ। पोस्टमार्टमपछिको रिपोर्ट र थप अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार