रौतहट : रौतहटस्थित वृन्दावन नगरपालिकाको नवौँ नगरसभा अन्यौलता परेको छ। नगरप्रमुख विनोद कुर्मीले हिजो (असार ९) आव्हान गरेको नगरसभा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासको आदेशपछि तत्काल रोकिएको हो।
उपमेयर सङ्गीता कुमारी रामले मेयर कुर्मीले नगरसभा एकलौटी ढङ्गले सञ्चालन गर्न लागेको आरोप लगाउँदै उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
त्यसैको सुनुवाइपछि न्यायाधीश हरिप्रसाद जोशीको एकल इजलासले अधिवेशन यथास्थितिमा राख्न आदेश दिएको हो। साथै,अदालतले विपक्षी वृन्दावन नगरपालिका लगायतका पक्षहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।
निवेदक रामले नगरपालिकासँग कार्यकाल, सेवा, कामकाज, सेवा सुविधा, सम्पर्कसम्बन्धी विवरण माग गरेकी थिइन्।
उनले सूचना माग गर्दा नगरपालिकाले बेवास्ता गरेको र स्पष्ट जानकारी नदिएको भन्दै सूचना अधिकार ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेकी हुन्। अदालतले ऐनको दफा ७ अनुसार उक्त सूचना सार्वजनिक गर्नुपर्ने ठहर गर्दै निवेदकलाई आवश्यक जानकारी उपलब्ध गराउन आदेश दिएको छ।
यता उपमेयर रामले मेयर कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेलले मिलेर नगरपालिकामा एकलौटी निर्णय गर्दै आएको र करोडौँ रुपैयाँको अनियमितता गरेको आरोप समेत लगाएकी छिन्। प्रशासकीय अधिकृत भुजेल लामो समयदेखि पदमा कार्यरत छन् र उनलाई लिएर नगरपालिकामा लगातार विवाद भइरहँदै आएको छ।
अदालतको आदेशपछि वृन्दावन नगरपालिकाको आगामी नगरसभा कहिले र कसरी सञ्चालन हुने भन्ने विषयमा अन्यौलता थपिएको छ।
प्रतिक्रिया