रौतहट : सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित मेजरगंज भित्री सडक खण्डमा बुधवार राति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रिपरमा आगजनी गरेका छन्।
बुधवार राति करिब ८ बजे जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय सचिन साह गुप्ता गम्भीर घाइते भए। उनलाई तत्कालै उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो तर राति ९ बजे चिकित्सकले मृत घोषणा गरे।
दुर्घटनापछि टिपर चालक फरार भएका थिए भने टिपर भने घटनास्थलमै रहेको थियो। चालक नभागेको थाहा पाएपछि स्थानीय आक्रोशित बनेर ट्रिपर हटाउन अवरोध गरे।
प्रहरीले भीडलाई सम्झाउने प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे आक्रोशित भीडले टिपरमा आगो लगाएका थिए। आगजनीबाट ट्रिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको कमाण्डमा १३ जनाको प्रहरी टोलीसहित थप टोली परिचालन गरिएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो।
जलेको टिपरलाई राति सवा २ बजे क्रेनमार्फत तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया