जनकपुर : नेपाली काँग्रेसका मधेश प्रदेश उपसभापति तथा पूर्व मन्त्री एवं प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेश सरकारले ल्याएको बजेटलाई वितरणमुखी,व्यक्तिवादी र बिचौलिया हाबी भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सरकारप्रति आलोचना गर्दै सांसद सिंहले जनमत पार्टीको नेतृत्वमा रहेको सरकार जनअपेक्षाविपरीत लागेको आरोप लगाए।
उनले प्रदेश सरकारको बजेट नीतिगत भन्दा पनि पहुँच र सत्ताका नजिकका व्यक्तिहरुलाई पोस्ने खालको देखिएको बताए।
उनको भनाइमा बजेट कागजमा आकर्षक देखिए पनि व्यवहारमा विभेद र लुटतन्त्र कायम गर्ने नियत प्रस्ट देखिन्छ।
“कतिपय वडामा ३० देखि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने केही वडामा बजेट शून्यजस्तै देखिएको छ,”सिंहले भने,“यसले बजेट वितरणमा गम्भीर असमानता र पहुँचको राजनीति हाबी रहेको प्रमाणित गर्छ।”
सिंहले केही दिन अघि मात्र प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका मुख्यमन्त्री सतीश कुमार सिंह र स्वास्थ्य मन्त्रीलाई लक्षित गर्दै स्वास्थ्य क्षेत्रप्रति सरकार गैरजिम्मेवार देखिएको टिप्पणी गरेका थिए।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका सिंहका अनुसार आफूले मन्त्री रहेका बेला प्रदेशका विभिन्न पालिकामा स्थापना गर्न निर्णय गरिएका ५० र १०० बेडका अस्पतालहरू अझै कार्यान्वयनमा आउन सकेका छैनन्।
“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्नु सरकारको असफलता हो,”सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले बताए,“यसप्रति सांसद सिंहले सरकारको ध्यानाकर्षण गराइसकेका छन।”
यता, साताभित्रै नेपाली कांग्रेस र जनमत पार्टीबिच बजेटको विषयमा आरोप–प्रत्यारोप चलिरहेको सन्दर्भमा प्रदेशवासी जनता भने निराश छन्।
बजेट पारदर्शी नभएको,राजनीतिक भागबन्डामा आधारित देखिएको र जनताको मूलभूत आवश्यकताभन्दा नेताहरूको सन्तुष्टिमा केन्द्रित भएको भन्ने जनगुनासो चुलिएको छ।
प्रतिक्रिया