काठमाडौँ : नेपालमा एचआइभी/एड्स सङ्क्रमितको अनुमानित सङ्ख्या ३४ हजार ३ सय ३७ पुगेको छ। सरकारी तथ्यांकअनुसार सङ्क्रमण मुख्य गरी पुरुष,यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, यौन व्यवसायी,सुई प्रयोग गर्ने लागू औषध प्रयोगकर्ता र आप्रवासीहरूमा केन्द्रित देखिएको छ।
शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले एचआइभी सङ्क्रमणको अवस्था गम्भीर रहेको बताइन्।
उनका अनुसार हाल देशमा एचआइभी सङ्क्रमित गर्भवती महिलाको सङ्ख्या २ सय २७ पुगेको छ भने वार्षिक नयाँ सङ्क्रमण दर ६१४ रहेको छ। एड्ससँग सम्बन्धित मृत्यु सङ्ख्या भने ५६९ रहेको छ।
ओझाले विभिन्न अध्ययनको सन्दर्भ दिँदै भनिन्, “जोखिम समूहमा एचआइभीको अवस्था सामान्य जनसङ्ख्याभन्दा धेरै गम्भीर छ।”
उनका अनुसार देशभर १ लाख १५ हजार ९ सय १९ जना महिला यौन व्यवसायी, ७७ हजार ३ सय ४० जना पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष, ३२ हजार ८ सय ९५ जना ट्रान्सजेण्डर, २७ हजार ८ सय ३९ जना कैदीबन्दी र ४४ हजार ३ सय ५० जना लागू औषध सुई प्रयोगकर्तामा सङ्क्रमणको जोखिम उच्च छ।
विज्ञहरूका अनुसार निःशुल्क परीक्षण साधनको अभाव, सेवा विस्तारमा अवरोध र अत्यधिक दातृ निर्भरता नै नेपालका लागि सन् २०३० भित्र एचआइभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय लक्ष्यमा पुग्न मुख्य चुनौती बनिरहेका छन्।
अध्ययनले देखाएअनुसार यौन व्यवसाय,यौनिक विविधता र नशालु पदार्थ प्रयोगजस्ता संवेदनशील विषयमा सरकारले अझ गम्भीर नीति निर्माण, बजेट विनियोजन र सेवा अभिवृद्धि गर्नुपर्ने आवश्यकता कहल्याइएको छ।
प्रतिक्रिया