१० करोड ठगेर फरार अधिकृत लुइँटेलमाथि तीन जिल्लामा पक्राउ पुर्जी, इटहरी उपमहानगरबाट एक वर्षे बिदा स्वीकृत

शुक्रबार, १३ असार २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेललाई उपमहानगरपालिकाले एक वर्षको बेतलबी बिदा स्वीकृत गरेको छ। तर लुइँटेल झापा,मोरङ र सुनसरीका विभिन्न व्यक्तिसँग झन्डै १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार छिन्।

उक्त बिदा उनको स्वास्थ्य कारण देखाएर इमेलमार्फत आएको निवेदनका आधारमा दिइएको हो। १४५ औँ कार्यपालिका बैठकबाट बिदा स्वीकृत गरिए पनि उनलाई अदालतबाट ठगीसम्बन्धी पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा यसरी बिदा दिने निर्णयले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईका अनुसार लुइटेलले स्वास्थ्य कारण देखाउँदै इमेलमार्फत बिदा मागेकी थिइन्। भट्टराईले भने,“बिदा निवेदन आएपछि  प्रक्रियाअनुसार कार्यपालिका बैठकबाट एक वर्षको बेतलबि बिदा स्वीकृत गरिएको हो।”

उनले आफ्नो सरकारी पदको दुरुपयोग गर्दै आफन्त, सहकर्मी, स्थानीय व्यापारी र सर्वसाधारणलाई विभिन्न बहानामा पैसा असुलेकी छन्। उनले कसैलाई ‘आमा असाध्यै बिरामी हुनुहुन्छ’ भन्दै,कसैलाई ‘लगानीमा प्रतिफल’ दिने लोभ देखाएर लाखौँ रुपैयाँ उठाएको विवरणहरू खुलेका छन्।

इटहरीकै अर्का अधिकृत विकास पौडेल भन्छन्,“मलाई मात्र ४ लाखभन्दा बढी ठगिन्। चेकमार्फत दिएको पैसा अहिले बाउन्स भइसकेको छ।”पीडितहरूको उजुरीअनुसार उनले सुनसरीबाट करिब ३ करोड,मोरङबाट २ करोड र झापाबाट ५ करोडभन्दा बढी रकम ठगी गरेकी हुन सक्ने प्रारम्भिक अनुमान छ।

लुइँटेलले झापाको अर्जुनधारा नगरपालिकामा राजस्व शाखामा कार्यरत रहँदा देखिनै ठगी गर्दै आएकी थिइन्। त्यहाँ कार्यरत एक अधिकृतका अनुसार,“हामी त्यहाँ आजित भएका थियौँ। इटहरी गएपछि ठिक होला भन्ने लाग्यो, तर त्यहाँ झन् ठगीको शैली उस्तै रहेछ।”उनी कार्यरत रहँदा कार्यालयमै सङ्कलन भएको राजस्व रकम समेत तीन महिनासम्म नबुझाएको पाइएको छ।

अर्जुनधारामा स्थानीय कर्मचारी र सेवाग्राहीसँग मिलेर करिब ५ करोड बराबरको ठगी गरेको विवरण उजागर भएको छ। त्यहाँबाट सरुवा भई इटहरी आएपछि उनले यहाँ पनि त्यही शैलीमा ठगी दोहोर्‍याइन्। उनले केही व्यक्तिलाई “सरकारी प्रोजेक्टमा तलब पाउने व्यवस्था मिलाइदिन्छु” भनेर समेत ठगेकी थिइन्।

उनको स्थायी ठेगाना सुनसरीको दुहबी नगरपालिका भए पनि पछिल्लो एक महिनादेखि उनी सम्पर्कविहीन छिन्। परिवारका सदस्यले समेत उनको अवस्थाबारे कुनै जानकारी नभएको बताएका छन्। पीडितहरू उनको घरमै पुगेर रकम माग्न थालेपछि स्थानीयस्तरमा तनाव चुलिएको छ।

इटहरी प्रहरी प्रमुख प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार,“हामीले पक्राउ पुर्जीको आधारमा खोजतलास गरिरहेका छौँ। घरमा समेत छापा मारिएको थियो, तर उनी फेला परिनन्।”

यसैबिच, इलाका प्रहरी कार्यालय बेलबारी,मोरङका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार लुइँटेलविरुद्ध उजुरी परेको र त्यसकै आधारमा पक्राउ पुर्जी जारी गरिएको हो।

उनी हालसम्म पक्राउ नपर्नुको कारण उनको पहुँच,राजनीतिक सम्बन्ध र आर्थिक चलाखी रहेको बताइएको छ। प्रहरीले निगरानी बढाउँदै खोजी कार्य सघन बनाएको जनाएको छ।

यो घटनाले सरकारी सेवा प्रणालीमा रहेको संरचनात्मक कमजोरी,निगरानीको अभाव र राजनीतिक संरक्षणको यथार्थ उजागर गरेको छ। यति ठुलो रकम ठगी हुँदा पनि ठोस अनुसन्धान र कारबाही नहुनु चिन्ताको विषय बनेको छ। पीडितहरू अहिले सम्पत्ति रोक्का गर्नेदेखि लुइँटेलको अन्तर्राष्ट्रिय स्तरमै खोजी गर्नुपर्ने माग गरिरहेका छन्।

को हुन् सस्मिता ?

 सस्मिताको जन्मस्थान सुनसरीको दुहबी हो । सानै उमेरमा बुबाको निधन भएपछि उनी मावलीमा हुर्किइन्, तर उनको माइती हाल पनि दुहबीमै रहेको छ । पारिवारिक स्रोतका अनुसार उनीहरूको आर्थिक अवस्था सामान्य नै रहेको छ । 

सस्मिता आफैँ अधिकृत पदमा रहे पनि परिवारले ठुलो सम्पत्ति जोडेको देखिँदैन । उनका श्रीमान् भुवन केसी पूर्व गैरसरकारी संस्थामा कार्यरत थिए भने ससुरा नेकपा एमालेका जिल्ला सदस्य हुन् ।

उनी २०७९ को स्थानीय चुनावमा कांग्रेसबाट टिकट नपाएपछि ससुरा एमाले प्रवेश गरेका थिए । सस्मिताको बसोबास अर्जुनधारामै रहेको अदालतको फैसला पत्रमा उल्लेख छ । तर,इटहरीमा सरुवा भएपछि उनी इटहरीमै रहेको बताइन्छ ।

यो पनि 

करोडौँ ठगेर फरार सस्मितालाई 'वारेस'मार्फत इटहरीले दियो तलब, बिदा समेत स्वीकृत गराउने तयारी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार