आफ्नै काकाले आत्तिकाको बलात्कारपछि हत्या गरेको निष्कर्षमा पुग्यो मोरङ प्रहरी

आइतबार, १५ असार २०८२

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–५ मा ७ वर्षीया बालिका आत्तिका सरदारलाई आफ्नै काकाले बलात्कार गरेर हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।  शनिबार बिहान बालिकाको शव घरबाट करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार, शवमा अनुहार र घाँटीमा चोटपटक देखिएपछि हत्या भएको स्पष्ट भएको थियो। प्रहरीले बालिकाको कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सुरुमा घटना अस्वीकार गरे पनि प्रमाण र परिस्थितिले उनी संलग्न भएको देखिएको छ।

प्रहरीका अनुसार, अनिषले मदिरा सेवन गरेपछि भतिजीलाई घरबाट बाहिर लगेर बलात्कार गरी हत्या गरेर शव विद्यालय छेउमा फालेका हुन्।

प्रहरीले मेडिकल रिपोर्टलगायतका प्रमाण संकलनको काम गरेर गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । ‘आफूसँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेको पाइयो । त्यसपछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालेर उनी फर्किएको देखिन्छ,’ प्रहरी स्रोतको भनाइ छ । 

अनिष आफूले अघिल्लो साँझ मदिरा सेवन गरेको स्वीकार गरेका छन् । प्रहरी अनुसार शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिन्छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए । आत्तिकाका बाबुआमा भने काम विशेषले बाहिर गएका थिए । 

सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा बाहिर गएका बेला घटना भएको हो । आत्तिकाका बाबु अक्षय भारत मनिहारी गएका थिए । पत्नी माइतीघर गएकी थिइन् । अरु बेला पनि काम परेर बाहिर जानु पर्दा अक्षय र उनकी पत्नीले सन्तान आमालाई छाडेर जाने गरेका थिए ।  

बुवाआमाले जिम्मा लगाएपछि आत्तिका र उनका भाइ हजुरआमासँग बसे । राति काका अनिषसँग सुते । भतिजी र भतिजलाई लिएर अनिष अलग्गै घरमा सुतेका थिए । अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर नातिनातिना सुतेको घरमा आइन् । 

ओछ्यानमा हेर्दा नातिनी देखिनन् । हल्लाखल्ला भयो । त्यसपछि गाउँमा बच्च चोरी भएको हल्ला चल्यो । खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा आत्तिकाको शव भेटियो । घरभित्रै बलात्कार गर्दा भतिजले थाहा पाउने भएकाले अनिषले भतिजीलाई घरबाट बाहिर लगेर बलात्कार गरी त्यसपछि हत्या गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

घटना भएको बेलामा बालिकाका आमाबाबु कामका सिलसिलामा बाहिर गएका थिए र बालिका हजुरआमासँग बस्दै आएकी थिइन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि थप स्पष्ट हुने बताइन्। अनिषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानको मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।

घटनापछि गाउँमा त्रास फैलिएको छ भने पीडित परिवारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

यो पनि

आत्तिका मृत्यु प्रकरण : बलात्कारपछि हत्याको आशंकामा काकालाई लियो प्रहरीले नियन्त्रणमा


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार