पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

बुधबार, १८ असार २०८२

म्याग्दी । पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो । पुन थरका मगर समुदायको बाहूल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ ।

होमस्टे सञ्चालक समेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले (प्रदिप) कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए । “महाविर पुनको योजनामा सन् २०११ मा शुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,” उनले भने “पछिल्लो ५ वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।”

समुन्द्रि सतहदेखि २ हजार २ सय ५० मिटर उचाईमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । टिकोट देखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाडादेखि हिमशृङखलाको अलावा सुर्योदय, म्याग्दीका ग्रामिण बस्ति र पहाडी भूगोल देखिन्छ ।

टिकोटका १० वटा घारमा होमस्टे (घरबास) सुविधा छ । यहाँको होमस्टेमा १ दिनमा ४० जना भन्दा बढी पाहुना बास बस्न सक्छन् । विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ । होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ ।

नेपाली पाहुनाहरु व्यक्तिगत सम्पर्क गरेर सिधै होमस्टेमा जान्छन् । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरबास र सामुदायिक लज स्थापना भएको थियो । स्थानीय जंगलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिडो, गाईभैसीको दूध, दही, विषादी र रासायनिक मलको प्रयोग बिना उत्पादन गरिएको प्राङगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ । आमा र पुरख्यौली समूहले मौलिक गित तथा नृत्यले स्वागत गर्छन् । कृषि पेशामा आधारित टिकोटबासीको जिवनशैली पनि पर्यटकको थप आकर्षण हो ।

अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको बेनी– मल्लाज– बाँसखर्क– डाडाकटेरी– नागी– मोहरेडाडा– फुलबारी– ठूलाखर्क हुदै पाँचौ दिनमा पुगिने टिकोटबाट बेनी–जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुदै खोप्रातर्फ जान सकिन्छ । बेनी देखि तिप्ल्याङ, महभिर हुदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्चि सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ ।

अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरुको संरक्षण गर्न संग्रहालय स्थापनाका लागि भवन बनाएको छ । पछिल्लो २ आर्थिक वर्षमा बिनियोजन भएको २९ लाख रुपैयाँ बजेटबाट निर्माण भएको २ तले भवनमा दैनिक जिवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री संकलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार