विचारः ‘नोबेल पुरस्कार’सम्मै पुगेका गिरिजाबाबुका लागि कांग्रेसले के गर्यो, अब के गर्ने ?

बुधबार, १८ असार २०८२

काठमाडौँ : वि.सं २०६६ मा तत्कालीन नेपाल सरकारले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो । नेपालस्थित नर्वेको दूतावास अनि नेपाल सकारकार सिफारिस पत्र र अन्य कागजपत्रहरू लिएर स्व कोइरालाका एक जना विश्वासपात्र मनोनयनका लागि नर्वे नै पुग्नुभयो । 

नर्वे जिएन नोबेल कमिटीमा गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनका सबै प्रक्रिया पूरा भएको थियो । तर त्यसपछि न नेपाल सरकारले त्यसका लागि पहल ग¥यो न पार्टीले नै कुनै चासो लियो । आज त्यो प्रसङ्ग पुराना भइसकेको छ । नेपाल सरकार अनि नेपाली काङ्ग्रेससँगै पनि ती प्रमाणहरू सायद अहिले छैनन् होला । 

तर उहाँलाई चाहनेहरूले ती सबैको दस्तावेजीकरण गरेर राखेका छन् । जति प्रतिस्पर्धी पार्टीले गिरिजाप्रसाद कोइरालालाई आज सम्झने गर्छन् । नेपाली काँग्रेसले उति नै बिर्सिँदै गएको छ । सम्झिनुपर्ने गिरिजाबाबु मात्रै एक व्यक्ति वा नाम मात्रै होइन, बरु गिरिजाप्रसाद कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलन र परिवर्तनको एक निर्णायक इतिहास पनि हो । 

असार १८ गते गिरिजाबाबु जन्मिएको दिन हो । २०६२-६३ को जुन परिवर्तन थियो त्यो वास्तवमै नेपाल मात्र होइन विश्व राजनीतिक इतिहासकै एउटा अद्भुत थियो । त्यसलाई हामीले जसरी सामान्य हिसाबले लियौँ, आज त्यसको परिणाम हामीले दुई दशकमै हामीले फेरेको व्यवस्थाप्रति यति धेरै घृणा र असन्तुष्टिहरू जन्माइसकेका छौँ । 

 नेपाल मात्रै होइन त्यो बेला संयुक्त राष्ट्र सङ्घीय मिसनका प्रमुख इयान मार्टिनले पनि गिरिजाप्रसाद कोइरालालाई शान्तिका एक ऐतिहासिक नायक भनेका थिए । 

२०६३ सालको जनआन्दोलनको सफलता र त्यसपछि लोकतन्त्रको पुनर्बहालीपछि केही समय गिरिजाबाबु अन्तरिमरुपमा राष्ट्र प्रमुख अनि सरकार प्रमुखसमेत हुनुभयो । त्यो बेला भारत भ्रमणमा जानुभएका कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले समेत ‘एसियाकै महान् नेता’ भनेर सम्मान गर्नुभएको थियो । यो सम्मान मात्रै गिरिजाबाबु वा उहाँको राजनीतिक विरासतलाई थिएन बरु त्यो सम्मान त सिङ्गो नेपाल र नेपाली अनि सिङ्गो विश्वका लागि एक सन्देश थियो । 

जो निरङ्कुशता, हरेक राजनीतिक वादका उग्रता अनि शक्तिकेन्द्र सामु कहिल्यै झुक्न जानेन । बरु उसले आफ्नो ज्यान नै दाउमा लगायो तर जनताका अधिकारसँग कहिल्यै कुनै शक्तिसँग सम्झौता गर्न जानेन । त्यसैको परिणाम बरु नेपालको इतिहासबाट एउटा वंशाणुगत शासकीय परम्पराको इतिहास नै मेटियो तर उसले जनताका अधिकार र सार्वभौमिकतालाई स्थापित गरेरै छोड्यो । त्यस्तो महान् राजनीतिक हस्ती हो गिरिजाप्रसाद कोइराला । 

 विसं २०६३ ४ गते पुनः स्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो । राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको रूपमा हुनुहुन्थ्यो । नेपालको राजनीतिक इतिहासमा त्यो पहिलो पटक भइरहेको जहाँ एक सामान्य नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख भएर राजकाज चलाइरहेको थियो । 

विश्व राजनीतिक इतिहासमा पनि त्यो अलि दुर्लभ अनि मौलिक तरिका थियो । माओवादीलाई पनि संसदीय राजनीतिमा ल्याउनका लागि गिरिजाप्रसाद कोइराला आफ्नो सारा राजनीतिक जीवन नै दाउमा लगाउनुभएको थियो । ‘गणतन्त्र’को बटम लाइनबाट टसमस नभइरहेको माओवादी १० वर्षसम्म राज्यविरुद्ध लडेर आएको एउटा विद्रोही राजनीतिक पार्टी थियो । 

 लामो समय हतियार युद्ध लडेको पार्टीलाई सम्हाल्न आफैँमा धरै चुनौतीहरू थिए । त्यसमा पनि ‘राजा फाल्ने’ विषय भनेको कम्ती चुनौतीपूर्ण थिएन । राजा राख्ने कि नराख्ने भनेर दलहरू आफैँमा विभाजित थिए । माओवादी जसरी भए पनि राजा फाल्ने जिद्दीमा थियो । अरू पार्टीहरू ‘हो’ मा ‘हो’ मिलाउँथे । तर सबैले त्यसका लागि ‘गिरिजाबाबु’ को निर्णय पर्खिरहेका थिए । 

तर त्यसबारेमा गिरिजाबाबु खुलेर बोल्नुभएको थिएन । त्यसअघि नै माओवादी झस्किसकेको थियो । २०६२ साल कात्तिक ७ गते सात तत्कालीन राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच भएको सात १२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेखिएको थियो । त्यो बुँदामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै धौ–धौ भएको थियो । त्यसका लागि गिरिजाबाबुले निकै मेहनत पनि गर्नुभयो । प्रचण्ड जी त ‘त्यो हुँदै हुन्न’ भनेर सात पटकसम्म संवाद छोड्नुभएको थियो ।

 तर गिरिजाबाबुले ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेकै ‘राजतन्त्रको अन्त्य’ हो भनेर व्याख्या गर्नुभयो । ऐतिहासिक शान्ति सम्झौताको प्रस्थान विन्दु मानिने त्यो १२ बुँदे समझदारीको ३ नम्बर बुँदामा यस्तो लेखिएको छ । यही बुँदामा उल्लेख गरिएको ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भन्ने ठाउँमा ‘राजतन्त्रको अन्त्य’ मात्रै लेख्न चाहन्थ्यो माओवादी। आज पनि त्यही आधारमा २०६२÷०६३ को जनआन्दोलनको राजतन्त्रकै अन्त्य गर्ने मनसाय थिएन भन्ने भाष्यहरू निर्माण भएका छन् ।

 तर गिरिजाबाबुले त्यो बेला निकै सोचिसम्झी त्यो शब्द राख्नुभएको थियो । २४० वर्षसम्म अविच्छिन्न एउटा शासक वर्गकै अन्त्य कम्ता चुनौतीपूर्ण थिएन । देश आन्तरिक ‘गृहयुद्ध’ ले थिलथिलो भइसकेको थियो । त्यसैले गिरिजाबाबु थप रक्तपात चाहनुभएको थिएन । सिधै राजा र राजसंस्थाकै अन्त्य गर्ने भनिएपछि त्यसबाट अनेकथरि प्रतिक्रान्ति हुन सक्थ्यो वा रक्तपात हुन सक्थ्यो । सदियौँदेखि दरबारप्रति बफादार र उत्तरदायी भएर बसेको नेपाली सेनाभित्रै त्यसले विद्रोह पनि निम्त्याउनसक्थ्यो । 

तर गिरिजाबाबुले निकै चलाखीपूर्वक बिना रक्तपात शान्तिपूर्ण ढङ्गबाट एउटा इतिहासको पाना नै च्युत गरिदिनुभयो । एक सफल राजनेताको गुण भनेको यस्तो हुनुपर्छ । विश्वका कतिपय विवादित व्यक्तिहरूले पनि नोबेल पुरस्कार पाएको इतिहास जिउँदै छन् । ल्याटिन अमेरिकाकी देशहरूमा असफल साबित शान्ति प्रक्रियाका लागि समेत पश्चिमा देशहरूबाट नोबेल पुरस्कार पाएका छन् । किनकि उनीहरूसँग शक्ति थियो, पहुँच थियो र पहल थियो । 

नेपालको शान्ति प्रक्रिया त आफैँमा एक मौलिक प्रयोग र प्रयास थियो । जो सफल पनि भइसकेको छ । माओवादी जनयुद्धको सहज, शान्त र सफल अवतरण कम्ता चुनौतीपूर्ण थिएन । तथापि आफ्ना सारा राजनीतिक जीवनलाई दाउमा लगाएरै भए पनि गिरिजाबाबुले माओवादीसँग सम्झौता गर्न तयार हुनुभयो । त्यो भनेको उहाँको व्यक्तिगत महत्त्वाकाङ्क्षा थिएन बरु जनताको चाहनाबमोजिम उहाँले आफूले आफैँलाई व्यक्तिगत र सैद्धान्तिक रूपमा पनि बदल्नुभएको थियो । 

जसका कारण देश युद्धको दलदलबाट निस्कियो । छिमेकी राष्ट्र भारतले नौ वटा नोबेल पुरस्कार भित्र्याइसकेको छ । यद्यपि भारतकै एक महान् शान्तिगामी नेता महात्मा गान्धीलाई चार चार पटक मनोनयन गर्दासमेत नोबेल पुरस्कार दिइएन । 

उत्तरी छिमेकी चीनले छ पटक नोबेल जितिसकेको छ । बङ्गलादेशले दुई र पाकिस्तानले समेत एक पटक नोबेल पाइसकेको छ । अझै पनि समय छ । मरणोपरान्त नोबेल पुरस्कार दिइएका इतिहास पनि छन् । त्यसका लागि अब नेपाली काँग्रेसले फेरि प्रयास किन नगर्ने ? यसतर्फ हाम्रो नेतृत्वले ध्यान दिन जरुरी छ । 

किनकि इतिहास भनेको हिजोको एउटा घटना वा परिघटना मात्रै होइन । इतिहासले वर्तमान चिनाउँछ र भविष्यको बाटो उघार्ने हो । नेपाली काँग्रेसलाई चाहने लाखौँ कार्यकर्ता र शुभेच्छुक अझ भनौँ आज लोकतान्त्रिक समाजवादको राजनीतिक धारमा आउन चाहने नयाँ पुस्ताका लागि इतिहासका यस्ता महान् राजनेताहरूको पहिचान जीवन्त राख्नु आवश्यक छ । 

(लेखक श्री पराजुली नेपाली काँग्रेसका नेता हुनुहुन्छ । यहाँ प्रस्तुत धारणा उहाँका निजी विचार हुन् ।)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार