धरानको सर्दु जलाधार क्षेत्रका  जग्गा फुकुवा गरिदिन माग गर्दै मेयर समक्ष पुगे स्थानीय

बुधबार, १८ असार २०८२

धरान : धरान उपमहानगरपालिका–१३ मा पर्ने सर्दु जलाधार क्षेत्रको नाममा रोक्का गरिएको आफ्नै जग्गा फुकुवा गरिदिन माग गर्दै स्थानीय पीडितहरूले सोमबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन्।


उनीहरूले चार वर्षदेखि रोक्का अवस्थामा रहेको आफ्नो जग्गा प्रयोग गर्न नपाउँदा हजारौं परिवार समस्यामा परेको गुनासो गर्दै, तत्काल समस्या समाधान गर्न नगर प्रमुखसँग माग गरेका हुन्।


स्थानीयको अनुसार २०७८ साल पौष १४ गतेदेखि सर्दु जलाधार क्षेत्र भनेर सो क्षेत्रमा रहेको जग्गा रोक्का गरिएको थियो। तर, जलाधार क्षेत्रभित्र नपर्ने जग्गासमेत बिना प्राविधिक अध्ययन र प्रमाण रोक्का गरिएको दाबी गर्दै उनीहरूले ध्यानाकर्षण पत्रमार्फत गुनासो गरेका छन्।


जग्गा रोक्का हुँदा घर निर्माण, अंशबण्डा, किनबेच, बैंकिङ कारोबारजस्ता आधारभूत कार्य अवरुद्ध भएको र आर्थिक, सामाजिक गतिविधि ठप्प बनेको स्थानीयको भनाइ छ।


बाझोगरा ९ ‘क’ र घोपा ७ ‘घ’ र ‘ड’ क्षेत्रका पीडित स्थानीयहरूले तिलोक सिं लिम्बूको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएका थिए। उनीहरूले दीर्घकालीन समाधानका लागि सिमाङ्कन प्रक्रिया यथाशीघ्र अगाडि बढाउन समेत माग गरेका छन्।


तर, मेयर हर्क साम्पाङले यो विषय आफ्नो अधिकार क्षेत्र बाहिरको भएको भन्दै ध्यानाकर्षण पत्र लिन अस्वीकार गरेपछि स्थानीयहरूले सो पत्र मेयरको टेबलमै राखेर फर्किएका छन्।

WhatsApp Image 2025-07-02 at 3.36.35 PM


स्थानीयहरूले समस्या लामो समय नथप्न र छिटोभन्दा छिटो सिमाङ्कन गरी जग्गा फुकुवाको मार्ग खुलाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार