धरानमा रास्वपाको हस्ताक्षर अभियान सुरु

बुधबार, १८ असार २०८२

धरान : तानाशाही सत्ता र शक्ति जोगाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लगाइएको प्रतिबन्ध र पार्टी सभापति रवि लामिछानेमाथि देखिएको राजनीतिक प्रतिशोधविरुद्ध धरानमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।

रास्वपा धरान उपमहानगर समितिको आयोजनामा आज दिउँसो ४ बजेदेखि धरान-१६ स्थित भानुचोकमा ‘हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिएको हो। अभियानको नेतृत्व रास्वपा धरान उपमहानगर समितिका संयोजक राम कार्कीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले हस्ताक्षरमार्फत वर्तमान सत्ता संरचनाको विरोध र रास्वपाको पक्षमा ऐक्यबद्धता जनाएका छ्न।

संयोजक कार्कीले वर्तमान सत्ताले नागरिकको आवाज दबाउन खोजेको र रास्वपामाथिको प्रतिबन्ध त्यसकै एउटा उदाहरण भएको बताए। "तानाशाही सोचको अन्त्य र जनताको अधिकारको रक्षा गर्न देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ। धरानबाट पनि जनताको ऐक्यबद्धता जुटाउँदै अभियानलाई अघि बढाएका छौं," उनले भने।

उनले रास्वपामाथि गरिएको प्रतिबन्ध, सभापति रवि लामिछानेमाथि देखिएको व्यवहार, र पछिल्लो समय पार्टीका गतिविधिहरूमा देखाइएको अवरोध सत्ता पक्षको नियोजित चाल भएको आरोपसमेत लगाए। कार्कीका अनुसार हस्ताक्षर अभियानलाई देशभरका जिल्लामा विस्तार गर्दै सरकार र सम्बन्धित निकायसमक्ष जनताको आवाज पुर्‍याइने छ।

रास्वपाले यसलाई केवल एक पार्टीको मुद्दा नभई, नागरिक स्वतन्त्रताको सवालको रूपमा लिएको स्पष्ट पारेको छ। "यो अभियान नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको पक्षमा रहेको कार्कीले बताए। रास्वपाले यो हस्ताक्षर संकलन अभियानलाई देशभर  निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार