वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

विहीबार, १९ असार २०८२

बागलुङ।  बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक वनलाई उत्पादनसँग जोड्ने उद्देश्यले निहुरो र अम्रिसो खेती सुरु गरिएको छ। वडा कार्यालय र स्थानीयको सहकार्यमा तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा यी बाली लगाइएको हो।

वडाध्यक्ष प्रेम लामिछानेका अनुसार तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनमा यो खेती सुरु गरिएको छ भने अन्य सामुदायिक वनमा पनि बिस्तारै विस्तार गर्ने योजना छ। तीन वर्षअघि १२ रोपनीबाट सुरु गरिएको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भएको उनले बताए।

यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म करिब रु ३ लाख लगानी भएको छ। गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको वडाध्यक्ष लामिछानेले जानकारी दिए। उनका अनुसार पहिले गाउँमा निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका छन्।

"पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो," वडाध्यक्ष लामिछानेले भने, "त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाट्टफुट्ट लगाएका छौँ। वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ।"

स्थानीय धनबहादुर जिसीले हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा आर्थिक लाभ हुने बताए। तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न सकिने उनको भनाइ छ। झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ।

काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती विस्तार गरेको बताइन्। "पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ। काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने वस्तु रोपेपछि हामी सबै उत्साहित छौँ। उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ," उनले भनिन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार