काठमाडौं : नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाईनलमा प्रवेश गरेको छ । भखैरै सम्पन्न पहिलो सेमिफाईनलमा मलेसियालाई नौँ विकेटले पराजित गर्दै नेपालले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
त्यसअघि नेपालले आयोजक मलेसियामाथि पकड जमाउँदै ९० रनमा अलआउट गराएको थियो । यो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै ९० रनमात्र बनाएको थियो ।
मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले १५ रन खर्चेर ४ तथा शुबम खनालले १२ रन खर्चेर ३ विकेट लिए ।
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मलेसिया अर्को समूहको उपविजेता हो ।
अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर भिडेका छन् । फाइनल खेल आगामी शनिवार हुनेछ ।
प्रतिक्रिया