धरान : धरान सिटी फुटबल क्लब प्रा. लि. को आयोजनामा आउँदो भदौ २८ गतेदेखि धरानमा ‘प्रथम धरान सिटी रनिङ कप’ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले प्रतियोगिताबारे जानकारी गराउँदै फुटबलको विकास र खेलाडीबिचको आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए।
अध्यक्ष राईका अनुसार प्रतियोगिता धरानका ८ वटा क्लबबिच नकआउट आधारमा सञ्चालन हुनेछ। खेलहरू धरान-१६ स्थित धरान रंगशालामा हुने छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। यस्तै, ‘म्यान अफ द म्याच’, ‘बेस्ट डिफेन्स’ र ‘बेस्ट गोलकिपर’ लाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
धरानमा फुटबल खेलप्रतिको विशेष रुचि र यहाँका क्लबबिचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। प्रतियोगिताको अनुमानित लागत रु.१२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया