धरान : धरान उपमहानगरपालिकाले खानेपानी योजना सञ्चालनका लागि विदेशी ऋण नलिने स्पष्ट निर्णय गरेको छ। नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले खानेपानी मन्त्रालयलाई पत्र लेख्दै एसियाली विकास बैङ्क (एडिबी) को ऋण लिने पक्षमा नभएको बताएका छन्।
धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न सप्तकोसीबाट पानी ल्याउने योजना अघि बढाइँदै आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले चार करोड रुपैयाँ विनियोजन गरिसकेको छ तर बाँकी रकम एडिबीबाट ऋणमार्फत लिने तयारी भइरहेको जानकारी आफूले पाएको मेयर राईले पत्रमा उल्लेख गरेका छन्।
"विदेशी ऋण लिनु भनेको देशका लागि दीर्घकालीन भार थप्नु हो," मेयर राईले भनेका छन्, "पहिले लिएको एडिबीको ऋणसमेत धरान उपमहानगरपालिकाले अहिलेसम्म तिरेको छैन। त्यसैले अबको योजना राष्ट्रिय स्रोतको भरमै अघि बढाउनुपर्छ।"
यदि सरकारले योजना अघि बढाउन नसकेको खण्डमा धरानवासीहरू आफैँ खोला र खोल्सीको पानी व्यवस्थापन गरेर जीवन यापन गर्न तयार रहेको मेयर राईको भनाइ छ।
प्रतिक्रिया