नक्कली विद्यालय खडा गरी सरकारी रकम हिनामिना, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

विहीबार, १९ असार २०८२

काठमाडौँ  : डोल्पा जिल्लाको तत्कालीन दुनै गाउँपालिका वडा नं. २ र ३ मा अवस्थित नभएको विद्यालयको नाममा योजना बनाई सरकारी रकम हिनामिनाको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’ नामक विद्यालय कुनै पनि समयमा ती वडामा सञ्चालनमा नरहेको पुष्टि भएको छ। आयोगले गरेको स्थलगत अनुगमन र जिल्ला शिक्षा कार्यालय, डोल्पा बाट प्राप्त पत्रअनुसार साविक दुनै गाउँपालिका वडा नं. २ र ३ मा हालसम्म दुर्गा प्रा. वि. नामको कुनै विद्यालय नरहेको, त्यहाँ केवल श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको देखिएको छ।

आर्थिक वर्ष २०६७/०६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट उक्त नाममा २ कोठे विद्यालय भवन निर्माणका लागि ७ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो। तर विद्यालय नै नरहेको ठाउँमा उपभोक्ता समिति गठन गरी झुट्टा विवरणसहित नक्कली कागजात पेश गरी रकम भुक्तानी गरिएको पुष्टि भएको छ।

यस कार्यमा संलग्न तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरूलाई मिलेमतोमा काल्पनिक विद्यालय बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको माग गरेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार